काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समयानुकूल परिमार्जन र सुदृढीकरण गर्दै नयाँ पुस्ताको आकांक्षाअनुसार मुलुकलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दश वर्षे जनयुद्ध, २०६२-६३ को जनआन्दोलन, मधेश आन्दोलन तथा विभिन्न उत्पीडित समुदायका संघर्ष र बलिदानबाट स्थापित गणतान्त्रिक व्यवस्थाले नागरिक सर्वोच्चता, समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायको मार्ग प्रशस्त गरेको उल्लेख गरेका छन् ।
उनले गणतन्त्रलाई केवल शासन प्रणाली परिवर्तनका रूपमा नभई समृद्ध र न्यायपूर्ण राज्य निर्माणको ऐतिहासिक संकल्पका रूपमा व्याख्या गरेका छन् । प्राप्त उपलब्धिमा सीमित नरही बदलिँदो विश्व परिवेश, नयाँ युग र नयाँ पुस्ताको चाहनाअनुसार राज्यलाई थप उन्नत दिशामा अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
डा. भट्टराईले संविधानका अपूर्ण पक्ष, कार्यान्वयनमा देखिएका कमजोरी तथा राज्य संरचनासँग सम्बन्धित समस्याहरूलाई समयानुकूल सुधार गर्दै नेपालले साझा राष्ट्रिय मूल्यमान्यताका आधारमा विकासको स्पष्ट दिशा तय गर्नुपर्ने धारणा राखेका छन् ।
उनले सुशासन, उत्पादनमुखी अर्थतन्त्र, विज्ञान-प्रविधिको विकास, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय तथा नागरिकको समृद्धि र खुसीलाई केन्द्रमा राखेर मात्रै गणतन्त्रको सार्थकता स्थापित गर्न सकिने उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमार्फत उनले गणतन्त्र दिवसले विगतका संघर्ष र बलिदानको सम्मान गर्दै नयाँ सोच, नयाँ संकल्प र राष्ट्रिय दृष्टिका साथ अघि बढ्न सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक’ : डा. भट्टराई