टेक्सास । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयर धनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उनलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।
टेस्लाको वार्षिक सेयरधनी बैठक बिहीबार सम्पन्न भएको थियो । बैठकमा करिब ७५ प्रतिशतभन्दा बढी सेयरधनीले मस्कको स्टक–आधारित क्षतिपूर्ति योजनाको समर्थनमा मतदान गरे । परिणाम घोषणा भएपछि हल उत्साह र हर्षध्वनिले गुञ्जायमान भएको बताइएको छ ।
“म यो समर्थनका लागि अत्यन्त आभारी छु”, मस्कले मतदानपछि सेयर धनीहरू र टेस्लाको सञ्चालक मण्डललाई धन्यवाद दिँदै भने।
धेरै सिइओहरूले जस्तो मासिक तलब वा बोनस नलिने मस्कको आम्दानी पूर्ण रूपमा कम्पनीका सेयर विकल्पहरूमा आधारित छ । नयाँ स्वीकृत प्याकेजअन्तर्गत टेस्लाले यदि ८५ खर्ब अमेरिकी डलरको बजार मूल्य हासिल गर्न सफल भयो भने उनलाई आगामी दशकमा ४२ करोड ३७ लाख टेस्ला सेयरहरू प्राप्त हुनेछ-जसको मूल्य करिब १० खर्ब अमेरिकी डलर बराबर हुनेछ ।
यो लक्ष्य पुरा गर्नका लागि टेस्लाको सेयर मूल्य हालको स्तरबाट करिब ४६६ प्रतिशतले बढ्नुपर्नेछ, जसले कम्पनीलाई हाल विश्वकै सबैभन्दा ठूलो मूल्याङ्कन भएका एनभिडियाभन्दा पनि माथि पुर्याउनेछ । एनभिडियाको बजार मूल्य हाल करिब ५० खर्ब अमेरिकी डलर रहेको छ ।
यदि मस्कले स्टक अवार्डका सबै १२ किस्ताहरू प्राप्त गरे भने उनको दैनिक औसत आय करिब २७ करोड ५० लाख अमेरिकी डलर पुग्नेछ । यसलाई इतिहासकै सबैभन्दा ठूलो कार्यकारी तलब सम्झौता मानिनेछ ।
टेस्लाको सञ्चालक मण्डलले सेयर धनीहरूलाई चेतावनी दिँदै उक्त योजना अस्वीकृत भए मस्क कम्पनीबाट टाढा जान सक्ने सम्भावना रहेको बताएका थिए । नियामक कागजातमा बोर्डले कि मस्कले आफूलाई प्रदान हुने नियन्त्रण र दीर्घकालीन प्रोत्साहनबिना सिइओको रूपमा निरन्तर रहनुपर्नेबारे चिन्ता व्यक्त गरेको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पार्टी खोल्ने एलन मस्कको घोषणा
ट्रम्पसँगको खटपटपछि एलन मस्कले गरे नयाँ राजनीतिक दल गठनको घोषणा
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क