टेक्सास । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयर धनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उनलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।
टेस्लाको वार्षिक सेयरधनी बैठक बिहीबार सम्पन्न भएको थियो । बैठकमा करिब ७५ प्रतिशतभन्दा बढी सेयरधनीले मस्कको स्टक–आधारित क्षतिपूर्ति योजनाको समर्थनमा मतदान गरे । परिणाम घोषणा भएपछि हल उत्साह र हर्षध्वनिले गुञ्जायमान भएको बताइएको छ ।
“म यो समर्थनका लागि अत्यन्त आभारी छु”, मस्कले मतदानपछि सेयर धनीहरू र टेस्लाको सञ्चालक मण्डललाई धन्यवाद दिँदै भने।
धेरै सिइओहरूले जस्तो मासिक तलब वा बोनस नलिने मस्कको आम्दानी पूर्ण रूपमा कम्पनीका सेयर विकल्पहरूमा आधारित छ । नयाँ स्वीकृत प्याकेजअन्तर्गत टेस्लाले यदि ८५ खर्ब अमेरिकी डलरको बजार मूल्य हासिल गर्न सफल भयो भने उनलाई आगामी दशकमा ४२ करोड ३७ लाख टेस्ला सेयरहरू प्राप्त हुनेछ-जसको मूल्य करिब १० खर्ब अमेरिकी डलर बराबर हुनेछ ।
यो लक्ष्य पुरा गर्नका लागि टेस्लाको सेयर मूल्य हालको स्तरबाट करिब ४६६ प्रतिशतले बढ्नुपर्नेछ, जसले कम्पनीलाई हाल विश्वकै सबैभन्दा ठूलो मूल्याङ्कन भएका एनभिडियाभन्दा पनि माथि पुर्याउनेछ । एनभिडियाको बजार मूल्य हाल करिब ५० खर्ब अमेरिकी डलर रहेको छ ।
यदि मस्कले स्टक अवार्डका सबै १२ किस्ताहरू प्राप्त गरे भने उनको दैनिक औसत आय करिब २७ करोड ५० लाख अमेरिकी डलर पुग्नेछ । यसलाई इतिहासकै सबैभन्दा ठूलो कार्यकारी तलब सम्झौता मानिनेछ ।
टेस्लाको सञ्चालक मण्डलले सेयर धनीहरूलाई चेतावनी दिँदै उक्त योजना अस्वीकृत भए मस्क कम्पनीबाट टाढा जान सक्ने सम्भावना रहेको बताएका थिए । नियामक कागजातमा बोर्डले कि मस्कले आफूलाई प्रदान हुने नियन्त्रण र दीर्घकालीन प्रोत्साहनबिना सिइओको रूपमा निरन्तर रहनुपर्नेबारे चिन्ता व्यक्त गरेको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ कार्तिक २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ पार्टी खोल्ने एलन मस्कको घोषणा
ट्रम्पसँगको खटपटपछि एलन मस्कले गरे नयाँ राजनीतिक दल गठनको घोषणा