काठमाडौं । एक वर्षअघि आफैंले ‘पेन्डिङ’ मा राखेको निर्णयलाई केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्ततः उल्टाएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण रोकिएको विषय सोमबारको सचिवालय बैठकबाट फुकुवा गर्दै एमालेले उनलाई पुनः सक्रिय राजनीतिमा फर्किने औपचारिक बाटो खोलिदिएको हो।एमाले वृत्तमा अहिले सबैभन्दा बढी चासोको विषय बनेको छ, भण्डारीले पाएको सदस्यता ‘नयाँ’ हो कि ‘नविकरण’ ? एमालेका एक पदाधकारीका अनुसार यो नयाँ सदस्यता नभई पहिले नै नविकरण भइसकेको सदस्यतालाई पुनः सक्रिय बनाइएको हो।
भण्डारीले राष्ट्रपति पदबाट बाहिरिएलगत्तै एमालेको केन्द्रीय कार्यालयमार्फत सदस्यता नविकरण गराएकी थिइन्। त्यसबेला अध्यक्ष ओलीसँग परामर्श गरेर महासचिवसम्मलाई जानकारी दिई केन्द्रीय कार्यालय सचिवमार्फत सदस्यता नविकरण प्रक्रिया पूरा गरिएको थियो। तर पछि ओली र भण्डारीबीच नेतृत्व प्रतिस्पर्धाको संकेत देखिन थालेपछि सदस्यता प्रक्रिया रोकिएको थियो।
गत वर्ष साउन ५–६ गते बसेको एमाले केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यतालाई ‘पेन्डिङ’ मा राख्ने निर्णय गरेको थियो। त्यसयता एमालेभित्र नेतृत्व, उत्तराधिकार र शक्ति सन्तुलनको बहस तीव्र बनेको थियो।
पार्टीभित्र बढ्दो दबाब, चुनावी कमजोर परिणाम र नेतृत्व हस्तान्तरणको बहसबीच ओलीले अचानक रणनीति फेरेका छन्। सोमबारको सचिवालय बैठकमा उनले भण्डारीको सदस्यता नविकरण गर्नुपर्ने प्रस्ताव आफैं अघि सारेका थिए।
‘उहाँको (विद्या भण्डारी) निवेदन आइसकेको छ, अब सदस्यता नरोकौं,’ ओलीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले सफलखबरसँग भने । बैठकमा ओलीले भण्डारीको राजनीतिक योगदानको खुलेर प्रशंसा गदैं सदस्यता खुलाउने प्रस्ताव राखेका थिए।
‘उहाँको क्षमता बुझेरै पार्टीले दुई–दुई पटक उपाध्यक्ष बनायो। क्षमताकै कारण उहाँ दुई पटक राष्ट्रपति निर्वाचित हुनुभयो,’ ओलीको भनाइ उद्धृत ती नेताले अगाडी भने, ‘उपाध्यक्ष र राष्ट्रपति हुँदा उहाँले सम्झनलायक काम गर्नुभएको छ।’
ओलीको प्रस्तावमा सचिवालयमा कसैले खुला असहमति जनाएनन्। ओली आफैंले सदस्यता नरोकौं भनी राखेको प्रस्तावभित्रको अन्तर्यमा दुई नेताबीच बैशाख २८ मा ओली निवास भक्तपुर गुन्डुमा भएको दुई घण्टा लामो संवाद मुख्य कारण रहेको बताइएको छ । त्यसदिन ओली र भण्डारीका बीचमा भएका कुराकानी के थिए ? र कसरी ओली भण्डारीको पाटीृ सदस्यता नरोक्ने निश्कर्षमा पुगे भन्ने बारेको भेद अझै खुलेको छैन ।
‘नयाँ सदस्यता’ होइन, ‘नविकरण’ किन महत्वपूर्ण ?
एमालेभित्र अहिले यो विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यदि भण्डारीलाई नयाँ सदस्यता दिइएको मानिने हो भने पार्टी विधानअनुसार उनले तत्कालै सबै जिम्मेवारी पाउने बाटो सहज नहुन सक्थ्यो। तर नविकरण मानिएपछि उनी एमालेको जुनसुकै तहको जिम्मेवारीका लागि योग्य हुने अवस्था बनेको छ।
एमालेका एक सचिवालय सदस्यका अनुसार, उहाँको (विद्या) सदस्यता पहिल्यै नविकरण भइसकेको थियो। केन्द्रीय समिति बैठकले त्यसलाई रद्द गरेको होइन, पेन्डिङमा मात्र राखेको थियो। अहिले त्यसलाई फुकुवा गरिएको हो। यससँगै भण्डारीलाई एमालेको भावी शक्ति सन्तुलन र नेतृत्व समीकरणमा पुनः स्थापित गर्ने संकेतका रूपमा निर्णयलाई हेरिएको छ।
ओली–भण्डारी संवादपछि बदलियो समीकरण
पछिल्लो समय ओली र भण्डारीबीच भएका भेटवार्तालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। चैत १ र वैशाख २८ गते ओली निवास गुन्डुमा तथा चैत १६ र चैत २९ गते त्रिवि शिक्षण अस्पतालमा उनीहरूबीच भेट भएको थियो।
यी भेट त्यस्तो समयमा भएका थिए, जतिबेला एमालेभित्र चुनावी हारको समीक्षा, नेतृत्व परिवर्तन र ओलीमाथिको दबाब बढिरहेको थियो। पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेल लगायत नेताहरूले समेत वैकल्पिक नेतृत्वबारे छलफल थालेको चर्चा चलिरहेको थियो।
यही पृष्ठभूमिमा भण्डारीको सदस्यता फुकुवालाई एमालेभित्रको शक्ति समीकरण पुनर्गठनको संकेतका रूपमा पनि विश्लेषण गरिएको छ। भण्डारीसँगै उनका कार्यकालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि सक्रिय राजनीतिमा फर्किसकेका छन्। उनी हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को जिम्मेवारीमा सक्रिय छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जबज नेपाली राजनीतिक यथार्थबाट विकसित वैचारिक मार्गदर्शन’ : विद्या भण्डारी
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमालेको महाधिवेशनले जबजलाई आत्मसात् गर्दै स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यसहित योग्य र सक्षम नेतृत्व चयन गर्छ’ : विद्या भण्डारी
एमाले महाधिवेशनलाई शुभकामना दिँदै विद्या भण्डारीले यस्तो भनिन् ?
पूर्वराष्ट्रपति विद्या भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'