भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख जरिवाना

सफल खबर संवाददाता

मंगलबार, ०९ असार २०८३, २१ : १८
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख जरिवाना

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका–१० मा रहेको लर्ड्स बिजनेस कम्प्लेक्स होटेल प्रा. लि.लाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

होटेलको खानाको गुणस्तरका सम्बन्धमा उपभोक्ताहरूबाट प्राप्त जनगुनासोका आधारमा मंगलवार सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले उक्त होटलमा आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा होटेलले गुणस्तरहीन खाने तेलको प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको पाइएको प्रशासनले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) तथा सोही ऐनको दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर रहेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङद्वारा जारी सूचनामा उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत)को निर्णयानुसार उक्त होटेललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम रु. .तीन लाख रुपैयाँ मात्र. जरिवाना गरिएको जनाएको छ । साथै, अनुगमनका क्रममा बरामद गरिएका अखाद्य सामग्रीहरू समेत नष्ट गर्ने निर्णय गरिएको जानकारी सूचनामा दिइएको छ।

प्रतिक्रिया दिनुहोस