‘नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्छ’ : विद्यादेवी भण्डारी

सफल खबर संवाददाता

मंगलबार, ०१ बैशाख २०८३, ११ : २७
‘नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्छ’ : विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लामो इतिहास बोकेका स्थापित राजनीतिक दलहरूप्रति जनमतमा आएको परिवर्तन र नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्ने देखिएको बताएकी छन् । 

नयाँ वर्षको शुभकामना सन्देशमा भण्डारीले २०८२ भदौ २३ र २४ गतेको घटनाबाट उत्पन्न विशेष परिस्थितिमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा निकै ठूलो फेरबदल ल्याएको बताइन् । 

अघिल्लो निर्वाचनमा लोकप्रिय मतका आधारमा प्रथम स्थान हासिल गरेको नेकपा एमालेले यस पटक अपेक्षाअनुसारको परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय भएको बताइन् । 

निर्वाचनको परिणामका कारणहरू खोज्ने क्रममा गरिने समीक्षासँगै पार्टीभित्रको एकता, अनुशासन र आपसी विश्वासलाई अझ सुदृढ बनाउनु अत्यन्त आवश्यक रहेको उनको भनाई छ । 

जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै जनमुखी कार्यक्रम एवम् कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको अपरिहार्य आवश्यकता भएको बताइन् । 

नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न हामी सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना समेत उनले गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस