‘अधिराजकुमार ज्ञानेन्द्र’को बाटो गजुरीमा छेकिँदा

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०७५, १० : ५५
‘अधिराजकुमार ज्ञानेन्द्र’को बाटो गजुरीमा छेकिँदा

(नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक ‘महानिशा’को धारावाहिक अंश - १५)

जेठ १९ गते आफ्ना पिता राजा वीरेन्द्रलाई मारेर आफू राजा बन्ने योजना दीपेन्द्रले बनाएका थिए । तर, उनले यसबारेमा दिवानीबाहेक अन्य कसैसँग पनि सेयर गरेका थिएनन् । पिताको हत्या गर्नेबित्तिकै आफू स्वतः तत्क्षण राजा हुने, राजा हुनु भनेकै सेनाको परम् सेनाधिपति पनि बन्नु हो भन्ने बुझेका दीपेन्द्र आफ्ना पिताको हत्या गर्न सेनाको औपचारिक पोसाकमा सजिएका थिए । एकपछि अर्को गर्दै परिवारका सदस्यहरूको हत्या गरेर दीपेन्द्रले त्यस रात जुन अवतार देखाएका थिए त्यसले हिरण्यकश्यपु र बकासुरलाई पनि बिर्साएको महसुस प्रत्यक्षदर्शीहरूले गरेका थिए ।

यति हुँदाहुँदै पनि त्यस रात यदि दीपेन्द्र बाँच्न सफल भएका भए उनी स्वतः राजा बन्ने निश्चित थियो । दीपेन्द्र राजा भएको अवस्थामा उनले हत्याकाण्डका निम्ति शाहज्यादा पारस या अरू कसैलाई ‘जिम्मेवार’ ठहऱ्याउँदै आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाएका भए दुनियाँले पनि त्यसलाई स्वाभाविक र जायज ठान्ने निश्चित थियो । किनकि पारसको छवि यति धमिलिएको थियो कि दरबारभित्र जसले जे अपराध गरे पनि त्यो पारसले नै गरे–गराएको ठान्ने स्थिति बनिसकेको थियो ।

शायद दीपेन्द्र पनि यही चाहन्थे । पारससँग दीपेन्द्रको मित्रता गज्जबकै थियो, दीपेन्द्रका हरेक आदेशहरूको पालना पारसले गर्थे र दीपेन्द्रबाट भए–गरेका भारी गल्तीको बोझ आफ्नो काँधमा लिन पनि पारस हिचकिचाउँदैनथे । दीपेन्द्रले हत्यारोपमा ‘तिमी अहिले नजरबन्दमा बस’ भनेका भए पनि पारसले त्यसलाई स्वीकार गर्न सक्थे । कदाचित पारसले नमाने पनि उनलाई हत्या–आरोपमा बलजफ्ती मुद्दा चलाइएको भए शाही परिवारका प्रत्यक्षदर्शीबाहेक अरू सबैले दीपेन्द्रलाई नै समर्थन गर्ने स्थिति थियो । यस प्रकरणले पनि मानिसका निम्ति छवि कति महत्वपूर्ण पाटो हो भन्ने स्पष्ट गरेको बुझ्न सकिन्छ । तर, दीपेन्द्रले यसो गरेनन्, चाहेको केटीसँग विवाह गर्न पाउनुपर्ने विषयबाट सुरु भएको विवाद राजा वीरेन्द्र र उनको वंशनाश गरेर टुङ्गियो ।

०००

रत्नमन्दिर पोखरामा भर्खर डिनर लिएर अधिराजकुमार ज्ञानेन्द्र सुत्ने तयारी गर्दै थिए । अङ्गरक्षक हस्याङफस्याङ गर्दै उनको शयनकक्षमा आए र अधिराजकुमारलाई नारायणहिटी राजदरबारमा भएको घटनाबारे जानकारी गराए । केहीअघि डिनरमा बस्दा अफ गरिएको मोबाइल फोनको स्विच अझै अफ थियो । अधिराजकुमारले मोबाइल अन गरे । मोबाइल खुल्नासाथ शाही अङ्गरक्षकमध्येका कसैको फोन आएको थियो । उनले फोन रिसिभ गरे, आँखामा भय थियो, हात र ओठहरू कामिरहेका थिए । ‘के भएको हो यस्तो’ भन्ने आवाज मात्र निस्कियो ज्ञानेन्द्रका मुखबाट । उताबाट बोल्नेले यति मात्र भनेको बाहिरसम्म सुनियो, ‘सबै कुरा बर्बाद भइसक्यो, सरकार तुरुन्त काठमाडौं फिरिबक्सनुप¥यो । स्थलमार्गबाटै काठमाडौं आउने व्यवस्था मिलाइएको छ ।’

फोन–संवाद सकिएपछि ‘लौ बर्बाद भयो, तुरुन्त काठमाडौं जानुपर्ने भयो’ भन्दै उनी कपडा बदल्नतिर लागे र एकैछिनमा बाहिर निस्किए । बाहिर सेना र प्रहरीका गाडी अधिराजकुमारको प्रतीक्षामा बसिरहेका थिए ।

झमझम पानी परिरहेको थियो । अधिराजकुमारलाई लिएर मुग्लिन, मलेखु हुँदै गजुरीसम्मको यात्राका लागि सुरक्षाकर्मीको गाडी बढ्यो ।

कास्की, तनहुँ र चितवन जिल्ला प्रहरी प्रमुखहरूलाई प्रहरी प्रधान कार्यालयबाट आवश्यक निर्देशन गइसकेको थियो । पोखराबाट आएको टोलीले मुग्लिनसम्म पु¥याउने र मुग्लिनदेखि काठमाडौंसम्म अधिराजकुमारलाई सुरक्षासहित ल्याइपुऱ्याउने जिम्मा चितवन प्रहरीलाई दिइएको थियो । राति साढे एघार बजेभन्दा अगाडि नै चितवन प्रहरी टोली मुग्लिन पुलको छेउमा प्रतीरक्षारत हुन पुगिसकेको थियो ।

घनघोर वर्षा भइरहेको थियो । सुनसान सडकमा पानीको लहर बज्रिँदा उत्पन्न आवाजले कोलाहल मच्चाइरहेजस्तो लाग्थ्यो । रातको साढे एक बजेतिर केही गाडी हुइँकिएर पुलतर्फ आउँदै गरेको देखिएपछि चितवन प्रहरीको कमान सम्हालेर बसिरहेका नारायण बस्ताकोटी गाडीबाट बाहिर निस्किएर सडकमै उभिए, साथमा प्रहरीको सानो टुकडी पनि उनीसँगै उभियो । पोखरातर्फबाट आएका गाडीहरू रोकिए । नारायण बस्ताकोटीलाई अधिराजकुमार ज्ञानेन्द्र बसेको गाडीमा बसेर आउन भनिएको थियो र अदबसाथ अभिवादन गरेपछि उनले अधिराजकुमारसँग गाडीमा बस्ने अनुमति मागे । मलीन र खिन्न मुद्रामा देखिएका अधिराजकुमारले नारायणलाई गाडीमा बस्न इसारा गरे । त्यसपछि पोखराबाट आएको सुरक्षा टोली फर्कियो, चितवन प्रहरीको गाडीले स्कर्टिङ सुरु गर्दै मलेखुतर्फ बढ्यो ।

गाडीको इन्जिनबाट निस्केको आवाज र भीषण वर्षाले पैदा गरेको कोलाहलमय आवाज बाहिर थियो । गाडीभित्र निष्पट्ट सन्नाटा, कोही बोलिरहेका थिएनन् । बोल्नुपर्ने अधिराजकुमारले थियो, उनी बोल्ने मुडमा नभई त्रसित र चिन्तित देखिन्थे । गाडीले मलेखु पार गर्दा करिब रातको पौने तीन बजेको हुँदो हो, त्यसको दश मिनेट नबित्दै गजुरी पुगियो । गजुरी बजार सकिनै लाग्दा घुम्तीनजिक सेनाको ब्यारेक छ र ब्यारेकको एउटा द्वार पृथ्वी राजमार्गतर्फ फर्काइएको छ । गाडी ब्यारेकको द्वारनजिकै पुग्न लाग्दा सडकमा हतियारधारी सैनिक पोजिसनसहित बाटो छेक्ने उद्देश्यले उभिइरहेको अवस्थामा देखिए । नजिकै पुगेपछि ज्ञानेन्द्र सवार गाडी रोकियो ।

गाडीबाट नारायण बस्ताकोटी ओर्लिए र सैनिक भएतर्फ गए । बस्ताकोटीले आफ्नो परिचय दिँदै ‘गाडीमा श्री ५ अधिराजकुमार ज्ञानेन्द्र सरकार सवारी भएको र जसरी भए पनि बिहान उज्यालो हुनुभन्दा अगाडि नै मौसुफलाई काठमाडौं पुऱ्याउनैपर्ने आदेश छ, त्यसैले तपाईंहरू बाटो खाली गरिदिनुहोस्’ भनी जोडदार आग्रह गरे । तर, उनको कुरा ड्युटीमा खटिएका सेनाका जवानले सुनेनन् ।

बरु ‘मिल्दैन, कसैलाई पनि यहाँबाट अघि बढ्न नदिनू भन्ने आदेश छ’ भन्दै सैनिक जवान बाटोबीचमै उभिइरहे ।

नारायण बस्ताकोटी परे सकसमा ! एकातिर उज्यालो नहुँदै काठमाडौं ल्याइसक्नु भन्ने आदेश अर्कोतर्फ बर्दिवाला सेनाको अवरोध । के गरौँ–गरौँ भयो उनलाई । अनि ‘अधिराजकुमार ज्ञानेन्द्रको आदेश लिएर यी सैनिकलाई गोली हानी अघि बढ्नु नै उपयुक्त हुने’ निष्कर्षमा नारायण पुगे । अधिराजकुमारलाई सेनाले बाटो छेकेको, अघि बढ्न नदिने आदेश भएको बताएको र आफूलाई जसरी भए पनि काठमाडौं ल्याइपुऱ्याउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको जानकारी गराउँदै उनले बाटो छेक्ने सैनिकलाई गोली हान्न अनुमति मागे । तर, अधिराजकुमार ज्ञानेन्द्रबाट कुनै प्रतिक्रिया प्रकट भएन । उनको मुखाकृतिमा झनै गम्भीर भाव देखियो । त्यसरी अधिराजकुमार मौन रहेपछि नारायण फेरि सैनिक जवान भएतिर गए र पुनः अनुनयविनय गर्न थाले । यसपटक पनि तिनले नारायणलाई सुनेको नसुन्यै गरे । नारायण पुनः अधिराजकुमारसमक्ष गए र पहिलेझैँ सेनालाई गोली हानेर अघि बढ्ने अनुमति मागे । यसपटक पनि अधिराजकुमारको मौनता तोडिएन ।

त्यसैबीच ब्यारेकभित्रबाट सेनाको एउटा सानो टोली मूलद्वारमा देखापऱ्यो । तिनले गाडीलाई ब्यारेकभित्र लैजान इसारा गरे । सडकमा उभिएका जवानले पनि पोजिसनमा उभिएर हतियार हल्लाउँदै गाडी ब्यारेकभित्र हुल्न सङ्केत गर्न थाले । त्यतिबेला नारायणले अधिराजकुमारको मुहारतर्फ दृष्टि पुऱ्याए । अधिराजकुमारको मुहारमा आतङ्क र त्रासको कालो बादल यसरी दौडिएको उनले पाए कि ‘लौ यिनले अब आफू पनि मारिने या कारागारमा थुनिने भइयो भन्ने ठानेजस्तो’ महसुस नारायणले गरे । सैन्य ‘कू’ भएको महसुस अधिराजकुमारले गरेको हुनसक्ने अनुमान नारायण बस्ताकोटीको थियो ।

गाडी ब्यारेकभित्र लैजाने बाध्यता भयो । गाडीमा सवार सबै डराउँदै ब्यारेक प्रवेश गरे । ब्यारेकमा प्रमुखले राम्रैसँग स्वागत गरेपछि मात्र अधिराजकुमारलगायत सबैको अनुहारमा केही राहत महसुस भएको तरङ्ग दौडिएको देखियो । केही घन्टा सबैले त्यही ब्यारेकभित्र बिताए । सुत्नका लागि बिछ्यौनाको बन्दोबस्त गरिएको थियो, तर निदाउने अवस्था थिएन । केहीबेरमै रात ढल्यो र पूर्वक्षितिज रातो देखियो ।

उज्यालो भएपछि काठमाडौंबाट पठाइएको हेलिकोप्टर ब्यारेकको हेलिप्याडमा अवतरण भयो । अधिराजकुमारलाई काठमाडौंबाट बिहान हेलिकोप्टर लिन आउँदै छ भन्ने कुराको जानकारी पहिले नै त्यहाँका मेजरले गराएका थिए । मलीन एवम् बेचैन मुद्रामा अधिराजकुमार ज्ञानेन्द्र हेलिकोप्टर चढे र जेठ २० गते बिहान काठमाडौंमा अवतरण गरे । उनी विमानस्थलबाट राजपरिवारका सदस्यहरूको उपचार भइरहेको स्थल छाउनीस्थित सैनिक अस्पतालतर्फ लागे, जहाँको वातावरण महाप्रलयपछिको पृथ्वीसँग तुलना गर्न योग्य रहेको महसुस सायद उनले गरे । (क्रमशः)

यस अघि

अंश- १ : युवराजको जन्म र अनिष्टको आशंका

अंश- २ : ‘कुलनाशक’ देखिएपछि दीपेन्द्रको जन्मकुण्डली परिवर्तन

अंश- ३ : राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन

अंश- ४ : राजा महेन्द्रलाई आफ्नो आदर्श मान्थे दीपेन्द्र

अंश - ५ : राति-राति दरबारमा यसकारण चल्थ्यो गोली

अंश-  : साँझमा शिवपुरी गुम्बा किन पुग्थे दीपेन्द्र ?

अंश- ७ : यस्ता जोखिम पनि उठाउँथे दीपेन्द्र

अंश– ८ : प्रियाबाट दिवानीमा यसरी सारियो दीपेन्द्रको ‘दिल’ !

अंश - ९ : होटल सोल्टीमा त्यो रातको ताण्डव

अंश - १० : राजा वीरेन्द्रले भने- ‘रियल्ली आई हेट हिम !’

अंश - ११ : यसकारण पैदा भयो वीरेन्द्रमा नीराजनलाई राजा बनाउने सोच

अंश - १२ :  दीपेन्द्रका अङ्गरक्षकलाई पहिल्यै दिइएको थियो खतराको सङ्केत

अंश - १३ : जब सुने दीपेन्द्रले निराजनलाई राजा बनाइने योजना

अंश - १४ : प्रेमिकासँगको फोन-सम्वादपछिको भयानक त्यो साँझ…

प्रतिक्रिया दिनुहोस