Safal Khabar - राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन
शनिबार, १३ असोज २०७५, ०९ : २०
राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन

(नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक 'महानिशा'को धारावाहिक अंश-३)

‘महाराजले के ज्ञानुलाई युवराज घोषणा गरिबक्सने सोच बनाइबक्सेको हो ?’

‘होइन महारानी, वीरेन्द्रलाई राजा भएर बस्न कसरी सजिलो हुनसक्ला भन्नेबारेमा मात्र म सोचिरहेको छु ।’

‘के गरियो भने त्यस्तो होला त महाराज ? के सोचिबक्सेको छ मौसुफले ?’

Yeti Diistillery

‘म पञ्चायतभित्रै पार्टीहरू स्वतन्त्र रहने र दलगत आधारमा निर्वाचन भई विजयी पार्टीले सरकार चलाउने र प्रतिपक्षले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रणालीमा जाने कि भन्ने सोच्दै छु ।’

‘त्यसो गर्दा कसरी वीरेन्द्र राजा भएर सजिलोसँग बस्न सक्लान् त ?’

‘अहिले दलहरूमाथि प्रतिबन्ध छ, प्रतिबन्धित दलहरूलाई साथमा लिएर विदेशीले खेल्ने सम्भावना जहिले पनि रहन्छ । विदेशी सेना यहाँ आउन मुस्किल छ, तर स्वदेशीकै बुई चढेर विदेशी यहाँ आउन सक्छन्, त्यो रोक्न अहिले नै पार्टी स्वतन्त्र गरिनुपर्छ भन्ने मलाई लागेको छ । पार्टीहरूले सरकार सञ्चालनको काम गर्छन्, राजाको भूमिका अभिभावकको जस्तो हुन्छ । सरकारका क्रियाकलापमाथि राजाको निगरानी रहन्छ । नराम्रा काम राजाले रोक्न सक्छन्, देशलाई राम्रो हुने काम मात्र सरकारले गर्न पाउँछ । हामीले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गऱ्यौं भने राजनीतिक दलहरू पनि हामीप्रति कृतज्ञ रहनेछन् र विदेशीको उक्साहटमा लागेर राजसंस्थाविरुद्धको धन्दामा उनीहरू लाग्ने छैनन् । जुन तनाव म थेगिरहेको छु, वीरेन्द्रमा त्यति तनाव थेग्न सक्ने क्षमता छैन । पार्टीहरूले सरकार चलाउन थालेपछि राजाको भारी कम हुन्छ, म वीरेन्द्रलाई सानो भारी बोकाउन चाहन्छु– जुन उसले बोक्न सकोस् ।’

राजाको कुराले महारानीलाई खिन्न तुल्यायो । उनले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने कुरालाई स्वीकार गरिनन् र भनिन्, ‘हातमा भएको राजपाठ छोड्नुहुँदैन सरकार ! बरु वीरूलाई अर्कै भूमिका दिएर ज्ञानुलाई युवराज घोषणा गरिबक्से भइहाल्यो नि । ज्ञानु बुद्धिमान छ, सरकारको सबै गुण उसमा सरेको छ । उसले राम्रोसँग राज्य चलाउन सक्छ, उसैलाई युवराज घोषणा गरिबक्योस् सबै ठीक हुन्छ सरकार ।’

होइन महारानी, ऊ क्षमतावान त छ, तर उसले समयलाई बुझ्न र बुझेर व्यवहार गर्न सक्दैन । सीधा बाटो जति पनि हिँड्न सक्छ ऊ, तर बाङ्गोटिङ्गो बाटोमा ऊ पनि अलमलमा पर्छ, त्यसैले यो भारी बिसाउनु नै उपयुक्त हुन्छ ।’

‘त्यसो भए मसँग किन सल्लाह लिइबक्सनुपऱ्यो त, अखिर के गर्ने भनेर महाराजले निर्णय नै गरिबक्सेको रहेछ त ।’ महारानीले असन्तुष्टि पोखिन् ।

महारानी रिसाएको भनक पाएपछि उनलाई सम्झाउँदै राजाले भने, ‘मैले कहाँ निर्णय गरेको छु र ? तिमीसँग यसो गर्दा कसो होला भनेर सल्लाह पो मागेको हुँ त । नरिसाउन, जे–जसो गर्नुपर्छ सल्लाह गरेरै गरौँला ।

‘म नवयुवराज भए ठाउँमा जान्छु, महाराज सोच्दै गरिबक्स्योस्’ भन्दै महारानी उठिन् र ऐश्वर्यको शनकक्षतर्फ लागिन् ।

त्यसपछि राजा महेन्द्रले कानुनमन्त्री शम्भुप्रसाद ज्ञवालीलाई दरबारमा बोलाउन सचिवलाई अह्राए । एक घन्टापछि मन्त्री ज्ञवाली दरबारमा हाजिर भए ।

राजा महेन्द्र मन्त्रीहरूसँग भेट गर्ने कक्षमा पुगे । शम्भुप्रसादले कक्षमा प्रवेश गर्दै राजालाई धनुष्टङ्कार शैलीमा प्रणाम गरे । राजाबाट ‘बस’ हुकुम भएपछि उनी नजिकैको कुर्सीमा बसे ।

‘शम्भु, आज मैले तिमीलाई अलिक गम्भीर विषयमा कुरा गर्न बोलाएको छु, कुरा तिमी र मेराबीचमा मात्र सीमित रहोस्, यतिसम्म कि हाम्रा बडामहारानीले नै सोधिखोजी गरे पनि तिमीले नबताउनू ।’

‘आदेश शिरोपर सरकार, मबाट बाहिर जाँदैन,’ शम्भुले प्रतिबद्धता जनाए ।

‘शम्भु, अब निर्दलीय स्वरूपमा पञ्चायती व्यवस्था चल्न सक्दैन र चलाउनु पनि हुँदैन, पञ्चायतभित्रै पार्टीहरूलाई छुट दिनुपऱ्यो, के–कसरी गर्दा हुन्छ, तिमीले बहुदलीय पञ्चायती व्यवस्थाको एउटा मस्यौदा गोप्य रूपमा तयार गर्नुपऱ्यो । धेरै हतार छैन, ६ महिनाभित्र तिमीले मलाई नयाँ संविधानको मस्यौदा बनाएर देऊ ।’

राजाको कुरा सुनेर शम्भु छक्क परे, उनले त्यहाँ कुनै ठूलो बहस गरिरहनुपर्ने ठानेनन्, तर नयाँ संविधानमा राजा र सरकारको अधिकार कसरी निर्धारण गर्ने भन्ने विषयमा भने उनी स्पष्ट हुन चाहे । सोधे, ‘सरकार, अधिकारको विभाजन कसरी गर्ने ?’

राजाले भने, ‘दैनिक राजकाज र प्रशासनको काम सरकारले गर्ने, सेना, परराष्ट्र मामिला संवैधानिक नियुक्ति र अन्य संवेदनशील विषय राजदरबारले हेर्ने, तर सरकारचाहिँ राजा र जनता दुवैप्रति उत्तरदायी हुनुपर्ने गरी व्यवस्था गर न ।’

‘जो हुकुम सरकार’ भन्दै मन्त्री शम्भुप्रसाद बैठककक्षबाट बाहिरिए ।

मन्त्री ज्ञवालीले बहुदलीय पञ्चायती व्यवस्थाको संविधानको प्रारूप राजाले दिएको समयसीमाभित्रै तयार पारिसकेका थिए । राजा महेन्द्रलाई हस्तान्तरण गर्नु अगावै भरतपुर दियालोबङ्गलामा राजाको निधन भइदियो । नयाँ राजाको सोच के–कस्तो हो भन्ने बुझ्न बाँकी नै थियो । त्यसैले ज्ञवालीले संविधानको मस्यौदा आफैँसँग राखेका थिए ।

वीरेन्द्रले राजगद्दी सम्हालेको केही दिनपछि नै अचानक शम्भुप्रसाद ज्ञवालीलाई दरबारमा बोलावट भयो । नारायणहिटी दरबार पुगेर उनले नयाँ राजाको दर्शनभेट गरे । राजाबाट ज्ञवालीलाई कुनै नयाँ कुरा ‘हुकुम’ भएन । ‘तिमीलाई बुबाले संविधानको मस्यौदा तयार गर्न भन्नुभएको थियो रे हो ?’ वीरेन्द्रले सोधे ।

राजा वीरेन्द्रको प्रश्न सुनेर सुरुमा त ज्ञवाली झस्किए । सम्हालिँदै उत्तर दिए, ‘हो सरकार ।’

‘तयार गऱ्यौ त ?’

‘गरिसकेँ सरकार ।’

‘लौ, त्यो तिमीले आजै मलाई ल्याइदिनू र यसबारेमा कसैसँग कुनै कुरा नगर्नू ।’

‘हवस् सरकार’ भन्दै ज्ञवालीले दुई हात जोडे । बाहिरिने इसारा पाएपछि ज्ञवाली त्यहाँबाट हिँडे र पछि संविधानको मस्यौदाका सम्पूर्ण प्रतिहरू राजा वीरेन्द्रकहाँ पुऱ्याइदिए । आफ्नै पिता महेन्द्रको ऐतिहासिक नासोलाई वीरेन्द्रले कहीँ सुरक्षित राखे या जलाइदिए, त्यसको जानकारी हुन सकेको छैन ।3

यसअघि
अंश- १ : युवराजको जन्म र अनिष्टको आशंका

अंश- २ : ‘कुलनाशक’ देखिएपछि दीपेन्द्रको जन्मकुण्डली परिवर्तन

प्रतिक्रिया दिनुहोस