राजा महेन्द्रलाई आफ्नो आदर्श मान्थे दीपेन्द्र

शनिबार, २० असोज २०७५, १० : ४२
राजा महेन्द्रलाई आफ्नो आदर्श मान्थे दीपेन्द्र


(नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक 'महानिशा'को धारावाहिक अंश-४)

 

प्रारम्भिक शिक्षा कान्ति ईश्वरी विद्यालयमा भएपछि माध्यमिक शिक्षाका निम्ति दीपेन्द्रलाई बुढानीलकण्ठ स्कुलमा भर्ना गरिएको थियो । दीपेन्द्र पढाइमा तेज थिए । बुढानीलकण्ठ स्कुलमा भर्ना गरिएपछि उनलाई त्यहीँको छात्रावासमा रहने व्यवस्था मिलाइएको थियो । उनी छात्रावासको पुमरी हाउसमा बस्ने गर्थे ।

नियमित पढाइबाहेक फुटबल, घोडचढी र सुटिङमा दीपेन्द्रको विशेष अभिरुचि थियो । स्काउटमा पनि उनी निकै अब्बल मानिन्थे । विद्यालयमा दीपेन्द्रको रोलनम्बर ८३२ थियो । उनी अनुशासित विद्यार्थीको कोटिमा पर्थे । आफ्ना सिनियरहरूलाई दीपेन्द्र ‘दाइ’ भनेर सम्बोधन गर्थे । साथीहरूसँग घुलमिल हुने र ठट्टा–रमाइलो गर्ने उनको स्वभाव थियो ।

दीपेन्द्र बुढानीलकण्ठमा भर्ना भएपछि दरबारका कर्मचारीहरू चिरनशमशेर थापा र नारायणप्रसाद श्रेष्ठलगायतले आफ्ना छोराछोरीलाई पनि सोही विद्यालयमा भर्ना गरेका थिए । विद्यालयमा दीपेन्द्रका नजिकका साथीहरू शिवेन्द्र बस्नेत, विमल तुलाधर, गुणेश्वर साह आदि थिए । आफूभन्दा माथिल्लो कक्षाका भए पनि दीपेन्द्र शिवेन्द्रलाई विशेष मन पराउँथे । शिवेन्द्र त्यसबेला अलिक उत्ताउलो स्वभावका मानिन्थे ।

दीपेन्द्र साथीहरूसँग आफू राजाको छोरा या युवराज भएको आभाष व्यवहारतः दिँदैनथे, सामान्य विद्यार्थीसरह उनी प्रस्तुत हुन्थे । तर, आठ कक्षामा पढ्न सुरु गरेपछि शिवेन्द्रलगायतका साथीहरूको सङ्गतका कारण दीपेन्द्रमा विपरीतलिङ्गीप्रति मोह जाग्न थालेको थियो । शिवेन्द्र आफूले छुट्टीको समयमा केटी जिस्क्याएको र केटीहरूसँग रमाइला क्षणहरू बिताएको अनुभव विद्यालय पुगेपछि दीपेन्द्रसँग सेयर गर्थे, यसले उनमा विपरीतलिङ्गीप्रतिको जिज्ञाशा र आकर्षण बढाउने काम गर्दथ्यो ।

त्यसो त बुढानीलकण्ठ स्कुलका ब्रिटिस प्रिन्सिपल र अन्य ब्रिटिस शिक्षकहरू पनि दीपेन्द्रलाई राम्रोभन्दा खराब कामका निम्ति प्रोत्साहित गर्थे । ब्रिटिस शिक्षकहरूको व्यवहार हेरेर युवराजका अङ्गरक्षकहरूले ब्रिटिसहरू नेपालका भावी राजा योग्य, चरित्रवान, क्षमतावान र सफल व्यक्ति बनेको हेर्न चाहँदैनन् कि भन्ने महसुस गरेका थिए ।

बुढानीलकण्ठका प्रथम प्रिन्सिपल वेकम्यान (Wakeman) नामका व्यक्ति थिए । उनी आफ्नी पत्नीसहित नेपालमा बस्थे र बुढानीलकण्ठ स्कुलमा सेवा गरेर सम्पूर्ण जीवन नेपालमै बिताउने इच्छा उनले राखेका थिए । तर, पछि केही व्यक्तिहरूको षड्यन्त्रका कारण वेकम्यानले नेपाल छोड्नुपर्ने अवस्था आयो र उनी रुँदै ब्रिटेन फर्किएका थिए ।

वेकम्यान विद्यालयको गुणस्तर र विद्यार्थीको भविष्यप्रति निकै सचेत र समर्पित थिए । उनको कार्यकालमा बुढानीलकण्ठ स्कुल एउटा नमुना विद्यालय बनेको थियो । वेकम्यानलाई हटाएपछि एक आइरिस मूलका व्यक्तिलाई स्कुलको प्रिन्सिपल बनाइयो, जो मनमौजी स्वभाव–चरित्रका थिए । विद्यालय र विद्यार्थीको भविष्यप्रति उनमा कुनै किसिमको लगाव थिएन । त्यसैले वेकम्यानको बहिर्गमनपश्चात् बुढानीलकण्ठ स्कुलको स्तर अनायासै खस्कन थालेको थियो ।

आठ कक्षामा पढ्दै गर्दा दीपेन्द्रले आफूलाई ‘सार्प सुटर’ ठान्न थालेका थिए । राजनीतिमा पनि उनको विशेष रुचि थियो र दीपेन्द्र आफ्ना पिता राजा वीरेन्द्रप्रति त्यति सम्मान र सकारात्मक भाव राख्दैनथे, जति राख्नुपर्थ्यो । बरु आफ्ना हजुरबुबा महेन्द्रप्रति दीपेन्द्रको विशेष लगाव थियो ।

आइरिसपछि भूगोलवेत्ता जेबी टाइसन स्कुलको प्रिन्सिपल बने । उनी पनि वेकम्यानजस्ता नभई आइरिसजस्ता देखिए । टाइसनमा क्षेत्री, ब्राह्मणलगायतका केही जातीय समुदायमाथि एकप्रकारको पूर्वाग्रह देखिन्थ्यो । विद्यार्थी भर्नामा पनि टाइसन गैरआर्य मूलका मानिसलाई प्राथमिकता दिने गर्थे । नेपालका भावी राजा उत्तम चरित्रका असल व्यक्ति नबनून् भन्ने सोचअनुरूपको व्यवहार टाइसनबाट बारम्बार प्रस्तुत हुने गर्दथ्यो । साथी–सङ्गतिका कारण दीपेन्द्रको बानी–व्यहोरामा उत्पन्न नकारात्मक परिवर्तनलाई निरुत्साहित गर्नुको सट्टा टाइसन प्रोत्साहन दिने गर्दथे ।

आठ कक्षामा पढ्दै गर्दा दीपेन्द्रले आफूलाई ‘सार्प सुटर’ ठान्न थालेका थिए । राजनीतिमा पनि उनको विशेष रुचि थियो र दीपेन्द्र आफ्ना पिता राजा वीरेन्द्रप्रति त्यति सम्मान र सकारात्मक भाव राख्दैनथे, जति राख्नुआठ कक्षामा पढ्दै गर्दा दीपेन्द्रले आफूलाई ‘सार्प सुटर’ ठान्न थालेका थिए । राजनीतिमा पनि उनको विशेष रुचि थियो र दीपेन्द्र आफ्ना पिता राजा वीरेन्द्रप्रति त्यति सम्मान र सकारात्मक भाव राख्दैनथे, जति राख्नुपर्थ्यो । बरु आफ्ना हजुरबुबा महेन्द्रप्रति दीपेन्द्रको विशेष लगाव थियो ।

आफ्ना साथीहरूसँग दीपेन्द्र बारम्बार भन्ने गर्थे, ‘आइ डन्ट एग्री विथ माई फादर, आफूबुबा नै मेरा रोल मोडल हुन् ।’

दीपेन्द्र महेन्द्रलाई आफूबुबा भनेर सम्बोधन गर्थे र राजा महेन्द्रको मुक्तकण्ठले प्रशंसा गर्दथे ।

दीपेन्द्रको मुखबाट उनका सहपाठी तथा अन्य मित्रहरूले राजा वीरेन्द्रको प्रशंसा कहिल्यै सुन्न पाएनन्, केवल महेन्द्रको गुणगान सुन्थे र आफूबुबाको प्रशंसा गरिरहँदा दीपेन्द्र निकै गौरव महसुस गरिरहेको बुझ्न सकिन्थ्यो ।

वि.सं. २०४४ सालमा एसएलसी उत्तीर्ण गरेपछि युवराज दीपेन्द्रको उच्च शिक्षा कहाँ गराउने भन्ने विषयलाई लिएर दरबारमा छलफल हुन थालेको थियो । राजा वीरेन्द्र इटन कलेजलाई नेपालमै भित्र्याउन चाहन्थे । त्यसनिम्ति उनले अनेकौँ प्रयास गरेर पनि सफल हुन सकेनन् । इटन कलेज भित्र्याउन नसकेपछि दीपेन्द्रलाई उच्च शिक्षाको लागि ब्रिटेन पठाउने बन्दोबस्त दरबारले मिलाएको थियो, उच्च शिक्षाका लागि दीपेन्द्रलाई बेलायत पठाइयो ।

तर, इटन कलेजमा दीपेन्द्रले पढाइ पूरा गर्न सकेनन् । विद्यालय व्यवस्थापनले दीपेन्द्रलाई विद्यालयको अनुशासन पालन नगरेको आरोपमा निष्कासन गर्ने निर्णय लियो र त्यसको खबर नेपालस्थित राजदरबारमा पठायो । राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवैजना ब्रिटेन गएर युवराजलाई फिर्ता लिई आए ।

त्यसपछि उच्च शिक्षाका निम्ति दीपेन्द्रलाई त्रिचन्द्र कलेजमा भर्ना गरियो । भूगोलमा विशेष रुचि राख्ने दीपेन्द्र स्नातक तहमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएपछि उनले स्नातकोत्तर पनि त्रिभुवन विश्वविद्यालयबाट भूगोलमै गरे । भूगोलमा उनी प्रथम श्रेणीमा प्रथम भएर स्नातकोत्तर उत्तीर्ण भएका थिए ।

यसअघि
अंश- १ : युवराजको जन्म र अनिष्टको आशंका

अंश- २ : ‘कुलनाशक’ देखिएपछि दीपेन्द्रको जन्मकुण्डली परिवर्तन

अंश- ३ : राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन

 

 

प्रतिक्रिया दिनुहोस