रास्वपा सचिवालय बैठकका ४ एजेण्डा तय

सफल खबर संवाददाता

शनिबार, १९ बैशाख २०८३, २० : ४६
रास्वपा सचिवालय बैठकका ४ एजेण्डा तय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आन्तरिक संगठन र आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न भोलिका लागि सचिवालयको बैठक आह्वान गरेको छ। 

पार्टी सभापतिको निर्देशन बमोजिम बिहान ११:०० बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय 'घन्टीघर' मा सो बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा मुख्य चारवटा कार्यसूचीहरू तय गरिएको उनले बताए । प्रवक्ता झाका अनुसार बैठकको पहिलो र महत्वपूर्ण कार्यसूचीका रूपमा 'स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३' रहेको छ। यसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट योग्य उम्मेदवारहरू कसरी र कुन मापदण्डमा छनोट गर्ने भन्ने विषयको नीतिगत खाका तयार पार्नेछ।

त्यसैगरी, पार्टीको सांगठनिक सुदृढीकरणका लागि 'महाधिवेशन कार्यविधि २०८३' का सम्बन्धमा पनि बैठकमा विस्तृत छलफल हुने प्रवक्ता झाले जानकारी दिए।

बैठकको तेस्रो एजेण्डाका रूपमा संसदीय दलको विधान संशोधनको विषयलाई राखिएको छ। 

मुख्य तीन एजेण्डाहरूका अतिरिक्त बैठकमा 'विविध' शीर्षकअन्तर्गत समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति र अन्य आन्तरिक विषयहरूमा समेत छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस