जब सुने दीपेन्द्रले निराजनलाई राजा बनाइने योजना

सफल खबर संवाददाता

शनिबार, २२ मंसिर २०७५, ०८ : ३७
जब सुने दीपेन्द्रले निराजनलाई राजा बनाइने योजना

नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको अनुसन्धानमा आधारित पुस्तक ‘महानिशा’को धारावाहिक अंश - १३)

विक्रम सम्वत् ०५८ को वैशाख महिना । रातको नौ बजे । युवराज दीपेन्द्रको खोपीमा दिवानीको प्रवेश भयो । सातामा एकाधपटक उनी त्यहाँ रातपरेपछि प्रकट हुन्थिन् र बिहान ६ बज्नुअघि नै बाहिरिन्थिन् । अङ्गरक्षक राजुको साथमा नारायणहिटी राजदरबार प्रवेश गरेकी दिवानी अन्य दिनभन्दा त्यस दिन अलिक बढी गम्भीर र चिन्तित मुद्रामा देखिन्थिन् ।

बेडरुमसँगै रहेको बैठककक्षमा दिवानीको प्रवेश हुँदा दीपेन्द्र मदिरापान गर्दै थिए । निर्धक्क पिइरहेका युवराजलाई देख्नेबित्तिकै दिवानीले भनिन्, ‘ओ ऽऽऽ ! यू आर ह्याभिङ ड्रिङ्क्स ! ह्वाट इज गोइङ टु ह्यापेनिङ, डु यू नो ?’

मदिराको गिलास हातमा लिँदै दीपेन्द्र उठे र मुस्कुराउँदै दिवानी भएतिर बढे । बायाँहातमा ह्विस्कीको गिलास लिएका उनले दायाँहात दिवानीको घाँटीमा बेर्दै भने, ‘डन्ट वरी डार्लिङ, द्याट इज गोइङ टु ह्यापेन, ह्वाट आई वान्ट ।’

‘नो, तिमीले कहिल्यै नसोचेको कुरा हुँदै छ । तिमीलाई राजा बन्नबाट वञ्चित गरिँदै छ,’ दिवानीले भनिन् ।

हा हा हा हा हा… रावण हाँसो हाँसे दीपेन्द्र ।

‘कुलडाउन डार्लिङ, के सुन्यौ तिमीले र आज यति धेरै सिरियस देखिँदैछ्यौ ?’

‘मैले सुनेको, नीराजनको विवाह तिम्रोभन्दा अगाडि गर्ने तयारी भएको छ । बुढानीलकण्ठतिरका कुनै मदन भन्नेको छोरीसँग नीराजनको विवाह हुने भन्ने सुनेकी छु । नीराजनको पहिलो सन्तान भएपछि तिमीलाई धीरेन्द्र सरकारलाई झैँ ‘श्री ५’को पदवी हटाएर सामान्य नागरिक बनाइनेछ । त्यसपछि नीराजनलाई राज्यसहायक चयन गरेर बुबाहजुर संरक्षणको भूमिकामा सीमित हुने कुरा छ अरे ।’

दिवानीले एकै सासमा भनिन् । उनको कुरामा यसपटक दीपेन्द्र हाँसेनन्, न मुस्कुराए नै । बरु निकै गम्भीर भए र ‘आई सी…’ भन्दै टेबुलमा ठूलो आवाजका साथ ह्विस्कीको गिलास राखे र सोफामा थच्च बसे ।

दिवानी उभिइरहेकै थिइन् । दीपेन्द्रले आफूलाई सम्हाले र सहज हुँदै उठे । दिवानीछेउमा पुगेर अँगालोमा बेर्दै उनले सोझामा ल्याएर आफूसँगै बसाए र भने, ‘ह्वाट डु यू प्रिफर टु ह्याभ ड्रिङ्क्स ?’

‘नो थिङ टुटे, आई एम नट इन मूड ।’ दिवानीले पिउन अस्वीकार गरिन् । ‘जस्ट वान्ट टु ह्याभ सम कोल्ड ड्रिङ्क्स’ भन्दै उठिन् र फ्रिजबाट कोक एक बोतल निकालिन् । एक हातमा कोकको बोतल लिएकी उनले अर्को हात सोफामा बसिरहेका दीपेन्द्रको कपालभित्र छिराइन् र सँगै बसिन् ।

‘कसले सुनायो तिमीलाई यो कुरा ?’ दीपेन्द्रले अलिक गम्भीर हुँदै सोधे ।

‘हु सेड मि द्याट इज नट इम्पोर्टेन्ट, ह्वाट आई हर्ड द्याट इज सिरिएस, अब के गर्ने भन त ?’

‘जे तिमीले सुन्यौ त्यो हुन असम्भव छ डार्लिङ । यो देशमा भविष्यको कोही राजा छ भने त्यो म मात्र हुँ । कसैले इतिहासको यो न्याचुरल प्रवाहलाई डाइभर्ट गर्ने प्रयास गर्छ भने परम्परा कायम राख्न के गर्नुपर्छ मलाई पनि थाहा छ । म सबै प्रकारको सीमा पार गरेर पनि शाहवंशीय परम्परा यथावत् राख्नेछु दिवा, यसमा तिमीले कुनै चिन्ता लिनुपर्दैन,’ दीपेन्द्रले दिवानीलाई आश्वासन पार्दै भने ।

‘के गर्छौ अब, नीराजनको विवाह रोक्छौ ?’ दिवानीले जिज्ञाशा प्रकट गरिन् । दिवानीको सिल्की कपालभित्र हातका औंलाहरू नचाउँदै दीपेन्द्रले भने, ‘म जे पनि गर्न सक्छु प्रिय । पहिलो कुरा तिमीले सुनेको सही हो या गलत म त्यो पत्ता लगाउनेछु, यदि सही निस्कियो भने म कुनै पनि कदम चाल्न तयार छु । म यो देशको राजा बन्नका लागि जन्मिएको हुँ । मेरो यो स्वाभाविक यात्रामा बाधक बन्ने जो–कोहीलाई म बाँकी राख्ने छैन ।’ गिलासमा ह्विस्की थप्दै उनले दिवानीको चिउँडो समाते र आफूतिर उनको अनुहार फर्काउँदै भने, ‘आफ्टर वीरेन्द्र देर विल बी किङ हु इज वन्ली दीपेन्द्र । तर, तिमी पनि आफूले सुनेको कुरा कति सही हो भन्ने विषयमा वास्तविकता बुझ्दै गर म पनि हेर्छु ।

यस्तै संवादका बीच यी दुईले करिब एक घन्टा बैठककक्षमा बिताए र त्यसपछि शयनकक्षमा प्रवेश गरे । भोलिपल्ट बिहान ६ बज्दा दिवानी नारायणहिटीमा थिइनन् ।

दिवानीले यसरी केही दिनअघि मात्र दीपेन्द्रलाई सुनाएकी थिइन्– दरबारमा युवराजाधिराज दीपेन्द्रका विरुद्ध गम्भीर षड्यन्त्र हुँदै छ भनेर । उनले ‘अधिराजकुमार नीराजनको विवाह तयारी भइरहेको र त्यसरी नीराजनको विवाह युवराजको भन्दा पहिले भएमा ज्येष्ठ सन्तान पनि उसैबाट प्राप्त हुनेछ, त्यसपछि श्री ५ महाराजाधिराज वीरेन्द्र आफू संरक्षकको रूपमा रही नीराजनलाई सम्पूर्ण राजपाठ जिम्मा दिने र युवराज दीपेन्द्रको ‘श्री ५’ पदवी खोस्ने तयारी भइरहेको छ’ भनेकी थिइन् । यो सुनेपछि त्यसपछिका दिनमा दीपेन्द्र झनै क्रूद्ध र उत्तेजित भएका थिए । उनले त्यसरी ‘श्री ५’ खोसिएर बस्नुपर्ने अवस्था जिउँदै मरेबराबर हुने ठानेका थिए र यही कुरा दिवानीसँगको संवादमा पनि बारम्बार दोहो¥याएका थिए ।
आफ्नोभन्दा पहिले भाइको विवाह गरेपछि उसबाट जन्मने सन्तान जेठो हुने र रोलक्रम सजिलै भाइको वंशमा सर्ने कुराबाट भन्दा आफूलाई राजा बन्न नदिइने र ‘श्री ५’ पदवीसमेत खोसिने कुराले दीपेन्द्रलाई व्यग्र र क्रूद्ध तुल्याएको थियो । दिवानीले दीपेन्द्रलाई सुनाएको कुरा शतप्रतिशत गलत पनि थिएन । काठमाडौं कालधारानिवासी जनरल मदनविक्रमकी छोरीसँग अधिराजकुमार नीराजनको विवाहको कुरा केही दिनअघिदेखि नै चलिरहेको थियो । जेठ २७ गते विवाहसम्बन्धी कुराको टुङ्गो गर्ने निधो राजारानीले समेत गरिसकेका थिए । यदि जेठ १९ गते दुःखद घटना नभएको भए त्यसको ठीक एक सातापछि नीराजनको दाम्पत्यजीवनको टुङ्गो लाग्ने निश्चित थियो ।

कान्छा सुपुत्र नीराजनप्रति बडामहारानी ऐश्वर्यको विशेष स्नेह थियो र उनलाई नीराजन भएपछि अरू कोही कसैको दरकार पर्दैनथ्यो । उता राजा वीरेन्द्रलाई भने सुपुत्री श्रुतिप्रति विशेष लगाव थियो । छोरीका कारणले पनि हुनसक्छ– वीरेन्द्र आफ्ना ज्वाइँ गोरखशमशेरलाई पनि त्यत्तिकै माया गर्थे । आमालाई कान्छा भाइ र बुबालाई बहिनी श्रुति भए पुग्ने रहेछ भन्ने कुराको महसुस दीपेन्द्रले धेरै अघिदेखि नै गरिरहेका थिए । अब अर्को साता भाइ नीराजनको विवाहको टुङ्गो लाग्दै छ भनी प्राप्त सूचना सही भएको जानकारी मिलेपछि दीपेन्द्रको छटपटी अति नै बढेको थियो । भाइको विवाह पहिले भएपछि उसैको सन्तान पहिले जन्मन्छ र उसैलाई नवयुवराज घोषणा गरिन्छ, मेरो श्री ५ पदवी खोसिने र नीराजनलाई युवराज घोषणा गरिने पनि सही हुनसक्छ भन्ने निष्कर्षमा दीपेन्द्र पुगेका थिए । यही कारण कुनै न कुनै अकल्पनीय र जोखिमपूर्ण कदमका निम्ति उनी उत्प्रेरित हुँदै थिए ।

यसै क्रममा दीपेन्द्र आफ्नो भविष्य सुरक्षित बनाउन पिताको हत्या गर्नुपर्ने निचोडमा पुगेका थिए । पिताको हत्या नगरी आफू तत्काल अधिकारसम्पन्न (राजा) बन्न नसक्ने र राजा नबनेसम्म आफ्ना इच्छाअनुसार चल्न नपाइने तथ्य विचार गरी दीपेन्द्रले आफ्ना पिता राजा वीरेन्द्रको हत्या गर्ने सोच बनाएका थिए । केही दिनअघि नै उनी पिताको हत्या गर्ने निचोडमा पुगेका भए पनि उनलाई उपयुक्त अवसर मिलिरहेको थिएन । त्यसैले श्री ५ महाराजाधिराज अंगरक्षकविहीन बस्ने मौकाको पर्खाइमा दीपेन्द्र थिए । हरेक महिनाको तेस्रो शुक्रबार राजदरबारमा हुने विशेष भोजबाहेक अरू कुनै पनि समयमा राजामाथि प्रहार गर्ने अवसर पाइने उनले देखेनन् । त्यसैले जेठ १९ गते शुक्रबारलाई दीपेन्द्रले रोजेका थिए ।

त्यस दिनको भोजको आयोजना दीपेन्द्र आफूले गरेका थिए । वास्तवमा जेठ १९ गते बेलुका राजारानी बालाजुस्थित विश्वविक्रम शाहीको छोरीको विवाहका अवसरमा आयोजित रात्रिभोजमा सरिक हुने कार्यक्रम थियो । दीपेन्द्रले १९ गते बुबाआमासहित परिवारका सबै सदस्य मैले आयोजना गरेको भोजमै सामेल हुनुपर्छ भनी जिद्दी गरिरहेका थिए । दीपेन्द्रले धेरै जिद्दी गरेपछि बडामहारानी ऐश्वर्यबाट विश्वविक्रम शाहलाई टेलिफोन गरी ‘१९ गते दीपेन्द्रले दरबारमै भोजको आयोजना गरेको रहेछ, उसले त्यहाँ सामेल हुनैपर्छ भनी अति जिद्दी गरिरहेको छ, त्यसैले १९ गते हजुरको घरमा आउन नसक्ने भइयो, कार्यक्रम रद्द गर्नुपऱ्यो’ भन्दै सम्झाउने प्रयास भयो । (क्रमशः)

यस अघि

अंश- १ : युवराजको जन्म र अनिष्टको आशंका

अंश- २ : ‘कुलनाशक’ देखिएपछि दीपेन्द्रको जन्मकुण्डली परिवर्तन

अंश- ३ : राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन

अंश- ४ : राजा महेन्द्रलाई आफ्नो आदर्श मान्थे दीपेन्द्र

अंश - ५ : राति-राति दरबारमा यसकारण चल्थ्यो गोली

अंश-  : साँझमा शिवपुरी गुम्बा किन पुग्थे दीपेन्द्र ?

अंश- ७ : यस्ता जोखिम पनि उठाउँथे दीपेन्द्र

अंश– ८ : प्रियाबाट दिवानीमा यसरी सारियो दीपेन्द्रको ‘दिल’ !

अंश - ९ : होटल सोल्टीमा त्यो रातको ताण्डव

अंश - १० : राजा वीरेन्द्रले भने- ‘रियल्ली आई हेट हिम !’

अंश - ११ : यसकारण पैदा भयो वीरेन्द्रमा नीराजनलाई राजा बनाउने सोच

अंश - १२ :  दीपेन्द्रका अङ्गरक्षकलाई पहिल्यै दिइएको थियो खतराको सङ्केत
 

 

प्रतिक्रिया दिनुहोस