नेपाल इटालीसँग १० विकेटले पराजित

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०८२, १८ : ५४
नेपाल इटालीसँग १० विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो । पहिलो खेलमा दुई पटकको विश्वविजेता इंग्ल्यान्डलाई दबाबमा राख्दै झिनो रनमा चुकेको नेपालले आज भने बिर्सन लायक खेल्यो ।

नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विकेट नगुमाई भेट्टायो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे ।

जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । ४४ बल खेलेका जस्टिनले ५ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै, एन्थोनीले ३ चौका र ६ छक्का हिर्र्काए । नेपालका कुनै पनि बलर चल्न सकेनन् र विकेटविहिन बने ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।

आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् ।

बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।

यसअघिको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले तथा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएका थिए । लगातार दोस्रो हारसँगै नेपालको ‘सुपर एट’को सम्भावना कठिन बनेको छ । संस्करणको डेब्यु टोलि इटालीले भने पहिलो जित हात पार्दै खाता पनि खोल्यो ।