टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै

सफल खबर संवाददाता

मंगलबार, ०५ फागुन २०८२, ०७ : २४
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै

काठमाडौ । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ। 

समूह चरणको अन्तिम खेल मुम्बइको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ। सुरुवाती ३ खेलमा लगातार हार भोग्दै सुपर ८ दौडबाट बाहिरिसकेको नेपाली टोली मंगलबारको खेलमा स्कटल्यान्डविरुद्ध मैदान उत्रदा सुखद् अन्त्यको योजनामा छ। 

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेस्ट इण्डिजसँग ९ विकेटको हार भोग्यो। 

नेपालसँग खेल्नुअघि नै स्कटल्यान्ड पनि सुपर ८ को दौडबाट बाहिरिसकेको छ। सोमबार दिउँसो भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २४ रनले हराउँदै सुपर ८ मा पुगेपछि स्कटल्यान्डको सम्भावना पनि सकिएको हो। 

पहिलो खेलमा वेस्ट इण्डिजसँग ३५ रनले पराजित भएको स्कटल्यान्डले दोस्रो खेलमा भने इटालीलाई ७३ रनले हराएको थियो। समूह चरणको तेस्रो खेलमा इंल्यान्डसँग ५ विकेटको हार भोगेको थियो। 

नेपाल रहेको समूहबाट वेष्ट इण्डिज र इंग्ल्यान्डले सुपर ८ मा स्थान बनाएपछि स्कटल्यान्ड, इटाली र नेपाल समूह चरणबाटै बाहिरिएका छन्।बविश्वकपमा आजै समूह डी को क्यानडा र न्यु जिल्यान्ड भिड्नेछन्। समूह बी को खेलमा जिम्बाबे र आयरल्यान्ड खेल्ने तालिका छ।