टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

एजेन्सी

शनिबार, ०९ फागुन २०८२, ०८ : १९
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । टी–२० विश्वकप क्रिकेटको सुपर–८ चरणको पहिलो खेलमा आज पाकिस्तान र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदासा रङ्गशालामा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

 दुवै टोली समूह चरणमा ३–३ जित र १–१ हार व्यहोर्दै यो चरणमा प्रवेश गरेका हुन्।विगतको नतिजा हेर्दा टी–२० विश्वकपमा न्युजिल्याण्डमाथि पाकिस्तानको वर्चस्व देखिएको छ। यी दुई टोलीबीच विश्वकपमा भएका ७ भेटमध्ये ५ पटक पाकिस्तानले जितेको छ भने न्युजिल्याण्डले मात्र २ पटक सफलता पाएको छ। 

यद्यपि, समग्र टी–२० अन्तर्राष्ट्रिय खेलको रेकर्डमा भने दुवै टोली लगभग बराबरीमा छन् । कुल ४९ खेलमध्ये पाकिस्तानले २४ र न्युजिल्याण्डले २३ खेल जितेका छन्।

यसपटकको विश्वकपमा पाकिस्तानका लागि साहिबजादा फरहान उत्कृष्ट लयमा देखिएका छन्। उनले नामिबियाविरुद्धको शतसहित प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक २२० रन बनाएका छन्। 

बलिङतर्फ उस्मान तारिक ८ विकेटका साथ टोलीका मुख्य हतियार बनेका छन्। अर्कोतर्फ, न्युजिल्याण्डका लागि टिम साइफर्टले ४ खेलमा १७३ रन बनाउँदै ब्याटिङ सम्हालिरहेका छन् भने लकी फर्गुसनले किफायती बलिङ गर्दै ४ विकेट लिएका छन्।

प्रेमदासा रङ्गशालाको पिच स्पिनरहरूका लागि सहयोगी मानिन्छ। यो मैदानमा पछिल्ला ५ खेलमध्ये ४ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएकाले टस जित्ने टोलीले पहिले ब्याटिङ रोज्ने सम्भावना बलियो छ। 

मौसम पूर्वानुमान अनुसार खेलको समयमा ३० देखि ४० प्रतिशत वर्षाको सम्भावना रहेकाले खेलमा केही अवरोध हुन सक्ने देखिन्छ। 

आजको खेलमा पाकिस्तानको नेतृत्व सलमान आगाले गर्नेछन् भने न्युजिल्याण्डको कप्तानी ड्यारिल मिचेलले सम्हाल्नेछन्।