नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०८२, १८ : ४३
नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता

काठमाडौं । आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ वटा कम्युनिस्ट तथा समाजवादी घटकहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । 

‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रश्तुत गरेको हो । प्रतिवद्धता पत्रमा राजनीतिक स्थिरता, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्रमुख आधार स्तम्भ मानिएको छ । पार्टीले शासकीय स्वरूपमा सुधार गर्दै मन्त्रिपरिषद्को आकार घटाउने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिज्ञा गरेको छ । आर्थिक क्षेत्रमा आगामी पाँच वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरणका लागि ‘कृषि लगानी दशक’ घोषणा गर्ने, भूमिहीन सुकुम्वासी समस्या समाधान गर्ने र स्वास्थ्य तथा शिक्षामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई पार्टीले विशेष प्राथमिकता दिएको छ । यस्तै, महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार, दलित समुदायका लागि विशेषाधिकार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मताधिकारको व्यवस्था मिलाउने समेत प्रतिवद्धता पत्रमा उल्लेख छ ।

परराष्ट्र नीतिका सन्दर्भमा असंलग्न कूटनीतिलाई पछ्याउँदै राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्ने कुरामा पार्टीले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस