काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उत्साहजनक रूपमा मनोनयन दर्ता भएकोमा खुसी व्यक्त गर्दै मुलुकबाट अब अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको बताएकी छन् ।
मंगलबार उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भएपछि एक विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यस कार्यलाई लोकतन्त्रको अर्को महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा चित्रण गरेकी हुन् ।
प्रधानमन्त्रीले निर्धारित समयतालिकाभित्र मनोनयन दर्ता गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा हार्दिक आभार प्रकट गरिन् ।
प्रतिनिधि सभाका १६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता गराउनुले लोकतान्त्रिक प्रणालीप्रति नेपाली जनताको प्रगाढ विश्वास रहेको पुष्टि भएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले यो राष्ट्रिय उत्साहले नेपाली जनता लोकतन्त्रलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने तथ्यलाई पुनः प्रमाणित गरेको उल्लेख गरेकी छन् ।
निर्वाचनको सुरक्षा व्यवस्थाबारे स्पष्ट पार्दै प्रधानमन्त्रीले सरकारले सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्ने दृढता व्यक्त गरेकी छन् ।
उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागेको बताउँदै सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित रहेको जानकारी दिइन् ।
निर्वाचन प्रक्रियामा देखिएको यो अभूतपूर्व उत्साहले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको प्रधानमन्त्री कार्कीले बताइन् ।
सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताउँदै उनले अब मुलुक विकास र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास दिलाइन् ।
निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।
साथै, उनले यो ऐतिहासिक लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह समेत गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०८२, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन