रास्वपा महाधिवेशन: चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०८३, १९ : ५७
रास्वपा महाधिवेशन: चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यहाँ हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक-स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । चर्को गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो ।

महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा तीन वटा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ । उद्घाटन स्थलको तीन ठाउँमा स्वास्थ्य डेस्क रहने उनले बताए। त्यसमध्ये एउटा अतिथि दीर्घातर्फ हुनेछ भने दुई वटा दर्शकदीर्घातर्फ राखिनेछ ।

आकस्मिक उपचारका लागि आवश्यक औषधि, कीटहरूसहित आकस्मिक सेवा सोही ठाउँमा दिइने र थप उपचार आवश्यक भएमा जिल्लाका ठूला अस्पतालहरूमा लगिनेछ । प्रधानका अनुसार प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्लास्थित अस्पतालका सञ्चालक र प्रहरी रहेको स्वास्थ्य उपचारका लागि समन्वय समिति बनाइएको छ । समितिले आवश्यकता अनुसार अस्पतालहरूमा समन्वय गरी उपचारको व्यवस्था गर्ने डा प्रधानले बताए।

चितवनमा अहिले अत्यधिक गर्मी छ । हिमाली र पहाडी जिल्लाबाट सहभागी आउने हुँदा ‘हिटस्ट्रोक’ हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै तयारी गरिएको उनको भनाइ छ । खानपानमा सावधानी अपनाउन आवश्यक समन्वय भइरहेको उनले बताए। 

जिल्लाका अस्पतालहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । महाधिवेशन आइतबारदेखि सुरु हुनेछ । उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । बन्द सत्रभित्र हुने भएकाले बढी जोखिम नहुने भए पनि उद्घाटन सत्र चौरमा हुने भएकाले स्वास्थ्यका हिसाबले जोखिम मानिएको छ । महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि आउनेछन् । पर्यवेक्षक र शुभेच्छुकहरू ठूलो सङ्ख्यामा आउने भएकाले सोही अनुरूप तयारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस