फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०८३, ०८ : ४६
फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ । पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित दर्ता गरेकाे छ ।

फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको समूह ‘सी’ काे खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो ।

ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका थिए । कुन्हाले खेलको २३औं र ३६ औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै, भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो । उनले मोरक्कोसँगको पहिलो खेलमा एक गोल गरेका थिए ।

यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूहको शीर्षस्थानमा उक्लिएको छ । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ ।

यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस