नारायणगढ । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल मर्मत गरिँदै छ । चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य सुरु गरिएको हो ।
दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने उक्त झोलुङ्गे पुल पुस २७ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म आवतजावत बन्द रहने गरी मर्मत थालिएको देवघाट गाउँपालिका–५ का अध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए।
उनले देवघाटकै पुरानो झोलुङ्गे पुलको मर्मतसम्भार ‘सस्पेन्सन ब्रिज’ ललितपुर कार्यालयमार्फत गरिन लागेको जानकारी गराउँदै मर्मत कार्यलाई सहज बनाउन सहयोग गर्न अनुरोध गरे।
अध्यक्ष कुँवरले भने, ‘दिउँसोको समयमा पुलमा आवतजावतमा रोक लगाएर मर्मत कार्य सुरु गरिएको छ । यहाँ आउने सम्पूर्ण स्थानीयवासी तथा भक्तजनलाई वैकल्पिक मार्ग प्रयोग गरी मर्मत कार्यमा सहजता पुर्याउन अनुरोध गरेका छौँ ।’
केही समयअघिदेखि पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गर्दै उनले माघे सङ्क्रान्ति मेला सम्पन्न भएपछि पनि पुलको अवस्थाको मूल्यांकन गरी छलफलपछि निर्णय गरिने बताए।
‘यहाँका स्थानीय वारिपारि आवतजावत गर्छन्, पारिपट्टि विद्यालय छ । मोटरसाइकल डोर्याएर मात्र लैजान दिने कि भन्ने विषयमा छलफल भइरहेको छ’, अध्यक्ष कुँवरले भने।
उनले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे। हाल देवघाट आउन ठिमुराको पुल, दासढुङ्गा पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल प्रयोग गर्न सकिने उनले बताए।
पुलका पट्टाहरू फेर्ने वा मिलाउने, नट–बोल्ट कस्ने वा फेर्ने, मुख्य केबलको परीक्षण तथा आवश्यक मर्मत, खिया लागेको भाग सफा गरी पेन्ट लगाउने, तथा अन्य जाँचलगायत काम भइरहेको अध्यक्ष कुँवरले बताए। देवघाट क्षेत्र विकास समिति र गाउँपालिकाको अनुरोधमा मेलालाई मध्यनजर गरी मर्मत कार्य थालिएको उनको भनाइ छ ।
विसं २०३७ मा निर्माण गरिएको उक्त झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । सामान्य दिनमा पनि झोलुङ्गे पुल हुँदै स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित हजारौँको आवतजावत हुने गरेको समितिका निर्देशक सदन बरालले जानकारी दिए। देवघाट आउने अधिकांश भक्तजन यही पुल प्रयोग गरी आवतजावत गर्ने गरेको उल्लेख गर्दै उनले मर्मत कार्यमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झोलुङ्गे पुलले सहज बन्यो यात्रा
दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल
आगामी आर्थिक वर्षमा सरकारले २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
झोलुङ्गे पुल सञ्चालनमा, स्वरोजगार बन्दै स्थानीय
देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा