जाँचबुझ आयोगमा रमेश लेखकको बयान : बल प्रयोगको आदेश मैले दिएको होइन

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०८२, १६ : १०
जाँचबुझ आयोगमा रमेश लेखकको बयान : बल प्रयोगको आदेश मैले दिएको होइन

काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगसमक्ष आफ्नो बयान दिएका छन्। आयोगका पदाधिकारीहरूले सोधेका प्रश्नको मौखिक जवाफ दिनुका साथै उनले लिखित धारणा पनि पेस गरेका छन्।

उनले भाद्र २३ गतेको जेनजी समूहको प्रदर्शनमा सुरक्षाकर्मीलाई आवश्यकताभन्दा बढी बल प्रयोग गर्न निर्देश नदिएको बयान दिएका छन् । 'भाद्र २३ गतेको प्रदर्शनका बारेमा पनि मैले गृहमन्त्रीको हैसियतले त्यही गरेको हुँ । केन्द्रीय सुरक्षा समितिको बैठकमा आवश्यकता भन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय वा योजना भएको छैन । त्यसो गर्ने न कानुनी व्यवस्था छ, नत अभ्यास नै छ,'उनले बयानमा भनेका छन्।

आयोगको सचिवालयमार्फत उपलब्ध गराइएको लिखित बयानमा लेखकले प्रदर्शनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको स्पष्ट पारेका छन्। उनका अनुसार गृहमन्त्रीको हैसियतले आफूले नीतिगत निर्देशन मात्र दिने हो, अपरेसनल कमान्ड भने सुरक्षा निकायका अधिकारीहरूमै निहित हुन्छ।

 

लेखकले भदौ २२ गते सुरक्षा समितिको बैठक बोलाई ‘कुनै पनि हालतमा मानवीय क्षति हुन नदिनु’ भन्दै संयमता अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन्। तर उनले ‘जेनजी’ आन्दोलनको नाममा लोकतन्त्रविरोधी तत्त्वहरू घुसपैठ गरी शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक दिशातर्फ मोडेको दाबी गरेका छन्।

 

उनको भनाइअनुसार गोली चलाउने, लाठीचार्ज गर्ने वा अन्य बल प्रयोग गर्ने निर्णय सुरक्षा निकायले परिस्थितिअनुसार गरेको हुन सक्छ, तर त्यसका लागि आफूबाट कुनै प्रत्यक्ष आदेश नदिइएको स्पष्ट छ।

 

राज्यका प्रमुख अङ्गहरूमाथि भएको आक्रमणलाई लेखकले लोकतन्त्र कमजोर पार्ने उद्देश्यले गरिएको सुनियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। घटनामा केही युवाहरूको ज्यान गएको विषयले आफू गहिरो रूपमा मर्माहत भएको उल्लेख गर्दै उनले नैतिक जिम्मेवारी स्वीकार गरी तत्काल पदबाट राजीनामा दिएको पनि स्मरण गराएका छन्।

प्रतिक्रिया दिनुहोस