कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०८२, १० : ०१
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण

१) जेन जी आन्दोलनपछि विकसित घटनामा संसद पूर्नस्थापनामा सहमत गराउने, सर्वपक्षिय सरकार निर्माणमा लैजाने र चुनाव केही समय पछि सारेर चुनावी माओल बनाएर मात्रै चुनावमा जाने ।

२) जेनजी आन्दोलनको घटनामा बयान दिनै नजाने, जाँचबुझ आयोगलाई अश्वीकार गर्ने । तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयान दिन जानबाट रोक्ने । 

३) राष्ट्रिय सभा चुनावमा कांग्रेससँगै गठबन्धन गरेर चुनावमा सहभागी हुने । वैकल्पिक धार एकढिक्का भए आगामी चुनावमा पनि सहकार्यको सम्भाबनाको खोजी गर्ने । 

काठमाडौं । गत भदौंमा जेनजी आन्दोलनपछि सत्ताच्यूत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा कांग्रेस सभापति शेरवहादुर देउवासँग तीन पटक प्रत्यक्ष भेट गरेका छन् । दुईवटा भेट ओली आफैं देउवा निवास महाराजगन्ज पुगेर गरेका छन् भने अर्काे एउटा भेट राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जु¥याईदिएका हुन् । 

यी भेटका तस्विरहरु ओली र उनी निकट नेताहरुले निक्कै महत्व दिएर सार्वजनिक पनि गरेका छन् । पूराना नेताहरु खासगरी कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दहाल प्रचण्डको अनुहार समेत नहेर्ने बताएकी प्रधानमन्त्री कार्कीले अन्ततः मंगलबार राष्ट्रपति निवासमा चुनावी छलफल गर्न राष्ट्रपतिको पहलमा नेताहरुको मुख मात्र हेरिनन्, दोहोरो सम्वाद समेत गरिन् ।

उक्त छलफलमा पनि राष्ट्रपति, प्रधानमन्त्री र नेपाली कम्युनिष्ट पार्टी संयोजक प्रचण्डको मत फागुन २१ मा तोकिएको निर्वाचन समयमै गर्नुपर्नेतिर जोड थियो । तर एकै लहरमा बसेका कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको जोड वातावरण छ त ? प्रश्नमै थियो । 

यसको अर्थ देउवा ओली लोलीमा बोली मिलाईरहेकै छन् । कतिपय जानकारहरु भन्छन्, अझै पनि कांग्रेस सभापति शेरवहादुर देउवाले ओलीसँगको सम्वन्ध तोडिहाल्न सकेका छैनन । ‘ओलीको चक्रब्यूहमा अझै पनि हाम्रो पार्टी सभापति परिनै रहनुभएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने,‘ओलीले आफनो अपठ्यारोमा पार्टी सभापतिलाई सँगै रहेको देखाएर अन्य शक्तिहरुलाई तर्साउन चाहिरहेका छन् । यसमा ओली सफल र हाम्रो सभापति असफल हुँदै गईरहनु भएको छ ।’

ओली र देउवाको पछिल्लो सहकार्य २०८१ असारबाट सुरु भएको हो । तत्कालिन प्रधानमन्त्री प्रचण्डको सरकार ढालेर कांग्रेस र एमालेले सरकार बनाउने काम गरेका थिए । ओली र देउवाका बीचमा सरकारको नेतृत्व आलोपालो गर्ने गरी यी दुई नेताले सहकार्य गरेपनि गत भदौं २३ र २४ को जेनजी पुस्ताको आन्दोलनपछि त्यसबेला प्रधानमन्त्री समेत रहेका ओली बालुवाटारबाटै राजीनामा दिएर सेनाको हेलिकप्टरमा भागेका थिए । 

त्यसपछि बनेको हो पूर्व प्रधानन्यायाधीस सुशीला कार्की नेतृत्वको चुनावी अन्तरिम सरकार । तर अहिले ओली फागुन २१ को चुनाव अलिक पछाडी सार्ने, देशको राजनीति आफ्नो मार्गचित्रमै अगाडी बढेको देखाउने र आफुमाथी जेनजी आन्दोलनको बेलाको दोषबाट मुक्त हुने योजनामा कांग्रेस सभापतिलाई पनि सँगै लिएर जान चाहेका छन् । त्यसमाथी राष्टिय सभा चुनाव (माघ ११) मा कांग्रेससँग सहकार्य गरेरै लाभलिने योजना पनि ओलीको छ । 

जेनजी आन्दोलनपछि ओलीले संसद पूर्नंस्थापनाको मुद्दामा कांग्रेसलाई पनि सर्वाेच्चसम्म लतार्न सफल भएका छन् । कांग्रेस सुरुमा संसद पूर्नस्थापनाको मुद्दा लिएर सर्वाेच्च जाने निधोमा थिएन । तर गत १९ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग देउवा निवासमै पुगेर भेट गरे । त्यसपछि नेपाली कांग्रेसका ८ जना सांसदको वारेसनामा लिएर पूर्व महान्यायधिवक्ता खम्बहादुर खातीले सर्वाेच्च अदालतमा रिट दर्ता गराए । त्यसअघि नै एमालेका ७५ सांसदले सर्वाेच्चमा रिट दर्ता गराएका थिए । 

दोस्रो भेट ओलीले ७ पुसमा फेरि महासचिव शंकर पोखरेललाई साथ लिएर देउवा भेट्न पुगे । त्यहाँ उनले कांग्रेसका तर्फबाट थप सांसदसहितको हस्ताक्षर सर्वाेच्चमा पूरक रिटमा दर्ता गराउने योजनामा सफल बने । ओलीको दाउ संसदको विघटित प्रतिनिधिसभाका बुहमत सांसद पूर्नस्थापनाको पक्षमा छन् भन्ने अदालतलाई देखाउनु थियो । कांग्रेस नेताहरुले हस्ताक्षर गरेर राखेका फाइल सर्वाेच्च लैजानु थियो । ओली त्यसमा पनि सफल भएका छन् । उनले देउवासँग गरेको छलफलका आधारमा नै मंगलबार कांग्रेस सांसदहरुको थप फाइलको रिट अदालत पुगेको छ । 

यो मिसनमा ओली सफल बनेका छन् । ओलीले थापेको ढोक्सामा देउवा परेको कांग्रेसका ती पदाधिकारीले बताए । ओली अब भदौं २३ र २४ घटनाको जाँचबुझ गर्न गठन गरेको आयोगमा बयान दिन जान चाहादैनन् । त्यसमा उनले सार्वजनिक अभिब्यक्ति दिँदै आएका छन् । ओलीले आफनो अडानमा कांग्रेसका नेता तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पनि सहमत गराउन चाहान्छन् । लेखक सुरुमा जाँचबुझ आयोगले बयान दिन बोलाए जाने मुडमा थिए ।

आयोगले उनलाई पुस १२ मा बयानका लागि पत्र पठाएर बोलाईसकेको छ । तर ओलीले देउवालाई लेखकलाई पनि बयानमा जान रोक्न गरेको आग्रह अनुसार देउवाले बयान दिन नजान लेखकलाई निर्देशन गरिसकेका छन् । ओली लेखकबाट आफुमाथी आयोगले चाल्न सक्ने कदमको परिक्षण गर्न चाहान्छन् । बयान नदिँदा आफु मात्रै होइनन, तत्कालिन गृहमन्त्री पनि साथमै छन् भन्ने देखाउन उनी चाहान्छन् । त्यसमा पनि उनले देउवालाई जालमा पारिसकेका छन् । 

तेस्रो ओली माघ ११ को राष्ट्रिय सभा चुनावमा कांग्रेसलाई नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्यमा रोक्न चाहान्छन् । बरु आवश्यक पर्दा कांग्रेस र एमालेका बीचमा भागवन्डा लगाउने योजनामा ओली छन् । अधिकाशं क्षेत्रमा कांग्रेस र एमालेकै बीचमा प्रतिस्पर्धा भएपनि मिलेर भागवन्डामा चुनाव लड्दा नै एमालेलाई फाइदा पुग्ने उनले देखेका छन् । सोही आधारमा उनले चुनाव गठबन्धन गर्ने प्रस्ताव पनि देउवासँग राखिसकेका छन् । यसबारेमा भने देउवाले के निर्णय लिन्छन्, त्यसको नतिजा आईसकेको छैन ।