भरतपुर महानगरले ल्यायो शैक्षिक विकासका यस्ता योजना

बाबु कृषभ

मंगलबार, २५ मंसिर २०७५, १२ : ५२
भरतपुर महानगरले ल्यायो शैक्षिक विकासका यस्ता योजना

चितवन । भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको विकासको लागि नयाँ योजनाहरु ल्याएको छ । 
भरतपुर महानगरपालिकाले स्कुल, कलेजहरुको गुणस्तर सुधारदेखि शैक्षिक बेरोजगार अन्त्यसम्मको योजनाहरु ल्याएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सीपयुक्त, प्राविधिक तथा व्यवहारिक शिक्षा उपलव्ध गराउने योजनाहरु ल्याइएको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘भर्ना अभियानलाई सार्थक पार्ने, विद्यालय उमेरका हरेक बालबालिकालाई विद्यालयभित्र पुयाउने, शिक्षकहरुको क्षमतामा वृद्धि गर्ने, दरबन्दी अभाव भएको स्कुलमा शिक्षक दरबन्दी पु¥याउने योजना महानगरले ल्याएको छ ।’ 
यसबाहेक महानगरले कक्षाकोठाको पठनपाठनलाई प्रविधिमैत्री बनाउने योजनाहरु पनि ल्याएको महानगर प्रमुख दाहालको भनाइ थियो । 
‘महानगरको शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउनकै लागि स्थानीय पाठ्यक्रम विकास गर्ने तयारी गरेका छौँ, यसको लागि हामीले कार्यदल पनि निर्माण गरेका छौँ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘शिक्षा क्षेत्रको विकास नगरी, शिक्षालाई प्रविधिमैत्री नबनाई स्मार्ट सिटीको कल्पना गर्न सकिँदैन, त्यसैले समग्र शिक्षाको विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको छ ।’ 

महानगरपालिकाले शिक्षाको विकासको लागि विभिन्न कार्यदल गठन गरिसकेको छ । कार्यदलले यतिबेला काम सुरु गरिसकेको छ । स्कुलस्कुलमा पुगेर गुणस्तर शिक्षा प्रदान भएनभएको अनुगमन गरी तथ्यांक संकलन गर्न थालिएको छ । 
महानगरको शैक्षिक सुधारको लागि ४ वटा कार्यदल गठन गरिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख भूमिलाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले महानगरभित्रको शैक्षिक विकास र समृद्धिको लागि ४ वटा कार्यदल गठन गरेको हो । 

१) शैक्षिक योजना निर्माण कार्यदल :
शैक्षिक योजना निर्माण कार्यदलले समग्र महानगरको शिक्षा प्रणालीलाई सुधार गर्नेछ । शिक्षाविद् रमाकान्त सापकोटाको संयोजकत्वमा ८ सदस्यीय शैक्षिक योजना निर्माण कार्यदल गठन गरिएको छ । यस कार्यदलले शैक्षिक योजना निर्माण गर्न सुरु गरिसकेको छ । उक्त कार्यदलले आउँदो फागुन मसान्तसम्म प्रतिवेदन तयार पार्नेछ । 

२) दरबन्दी मिलान तथा अनुगमन कार्यदल :
यस कार्यदलले शिक्षकको दरबन्दी मिलानको कामदेखि विद्यालयको अनुगमनसमेत गर्नेछ । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख भूमिलाल सुवेदीको संयोजकत्वमा ८ सदस्यीय कार्यदल बनेको हो । 
‘महानगरका कुनै विद्यालयमा दरबन्दी कम र कुनैमा बढी छन् । दरबन्दी मिलाउने काम यो कार्यदलले गर्नेछ’ संयोजक सुवेदीले भन्नुभयो, ‘यो बाहेक यो कार्यदलले अनुगमन पनि गर्नेछ ।’ दरबन्दी मिलान तथा अनुगमन कार्यदलले पनि फागुन मसान्तसम्ममा प्रतिवेदन बुझाउनेछ ।

३) शिक्षा नियमावली मस्यौदा निर्माण कार्यदल :
यो कार्यदलले शिक्षा नियमावली मस्यौदा तयार पार्नेछ । सामाजिक विकास समितिका संयोजक तथा शिक्षा समितिका सदस्य विजय भुजेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । 
उक्त कार्यदल पनि आफ्नो गृहकार्यमा लागिसकेको महानगर शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । उक्त कार्यदलले पनि फागुनभित्र प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा बुझाउनेछ । 

४) स्थानीय पाठ्यक्रम विकास निर्माण कार्यदल :
भरतपुर महानगरपालिका शिक्षा समितिको बैठकले स्थानीय पाठ्यक्रम विकास निर्माण कार्यदल पनि गठन गरेको छ । उक्त कार्यदलमा शिक्षा समितिका सदस्य लेखनाथ खनाल संयोजक रहेका छन् । ७ सदस्यीय रहेको उक्त कार्यदलले आउँदो शैक्षिकसत्रदेखि स्थानीय भूगोल र त्यहाँका बासिलाई मध्येनजर गर्दै स्थानीय पाठ्यक्रमको विकास गर्नेछ । सो कार्यदलले पनि अनिवार्य फागुनभित्रै प्रतिवेदन तयार पार्नुपर्छ । 
यसरी गठन भएका ४ वटा कार्यदलले ढिलोमा फागुन मसान्तसम्ममा शिक्षा समितिमा प्रतिवेदन बुझाउनुपर्ने भरतपुर महानगरपालिकाले जनाएको छ । महानगरको शिक्षा समितिमा आएको प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित कार्यपालिका बैठकमा प्रतिवेदन प्रस्तुत गरिनेछ । आउँदो शैक्षिक सत्रदेखि सुझावसहितको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने महानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस