काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले बुधबार एमाले छोडिदिए । गत वर्ष नै एमालेले निश्काशन गरेका सूदुरपश्चिमका नेता भीम रावलसँगै उनी पनि माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत ११ वाम दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा समाहित भए ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्रीसमेत भएका बाजुराका एमाले नेता रहेका शाहले पर्टी छोड्दै गर्दा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्वोधनका क्रममा भनेका केही शब्दले एमालेभित्र रहेकालाई पनि निक्कै विजाएको देखिन्छ ।
उनले भनेका थिए, ‘कम्युनिष्ट पार्टीका सस्थापक महासचिव पुष्पलालको परिवारको पार्टी हुन सकेन एमाले, मनमोहन अधिकारी, भरतमोहन अधिकारीको परिवारको पार्टी बन्न सकेन एमाले । हुँदा हुँदै मदन भण्डारीको परिवारको समेत पार्टी हुन सकेन एमाले ।’
केपी ओलीले पार्टी नेतृत्वमा आएपछि पार्टीभित्र दास मात्र उत्पादन गरिरहेको र पार्टीमा उनको कार्यशैलीको आलोचना गर्नेहरुलाई निकाल्न थालेको शाहले पार्टी छोड्दै गर्दा आरोप लगाएका थिए ।
‘आज देशमा ऋतु बदलिए मौसम बदलिए नदीले पनि बहाव बदलेको छ, तर केपी शर्मा ओलीको अहङ्कार बदलिएको छैन, दम्भ बदलिएको छैन। हुङ्कार बदलिएको छैन।’ शाहले भनेका थिए ।
उनले ओलीमाथी लगाएको आरोप अन्तर्यमा हेर्ने हो भने निक्कै संवेदनशील छ । नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास जति पुरानो छ, त्यसको संगठनभित्रको विभाजन र अस्वीकृतिको कथा पनि त्यत्तिकै पुरानो छ । नेपालको पहिलो कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी र विचारका अभियन्ता मदन भण्डारी— यी सबैका परिवार अहिले एमालेसँग नभएको प्रसंग शाहले पार्टी छोडदै गर्दा उठाएका थिए ।
अहिले एमालेकै नेतृत्वमा रहेका केपी शर्मा ओलीले उनीहरूलाई पार्टीभित्र राख्न नसकेको वा नराखेको टिप्पणीहरू पार्टीभित्रै सुनिन थालेका बेला उनले त्यो मुखरि गरिदिएका थिए ।
पुष्पलालकी श्रीमती तथा पूर्वमन्त्री साहना प्रधानले पनि एक कालखण्ड एमाले छोडने अवस्था आएको थियो । उनका अन्य पारिवारिक सदस्यहरू पनि विभिन्न विचारधारात्मक धारहरूमा अहिले छरिएका छन् । संस्थापककै परिवार एमालेमा नहुने अवस्थाले एमालेभित्रको वैचारिक निरन्तरतामाथि प्रश्न उठाएको छ ।
नेपालको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी एमालेका ऐतिहासिक प्रतीक हुन् । तर, उनको परिवार पनि क्रमशः आज एमालेसँग टाढिदो अवस्थामा छ । भरतमोहन अधिकारीको परिवार पनि एमालेबाट टाढा छ । विशेष गरी उनकी छोरी लिमा अधिकारी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोषाध्यक्ष नै छिन् । मनमोहन र भरतमोहनजस्ता कम्युनिस्ट इतिहासका पात्रका परिवार एमालेमा नहुने अवस्थाले एमाले अब आफ्नो मूल जरा बिर्सिँदै गएको पार्टी बन्दै जान थालेको छ ।
एमालेका वैचारिक पिताका रूपमा चिनिने मदन भण्डारीको नाम आज पनि पार्टीका नेता–कार्यकर्ताले श्रद्धापूर्वक लिन्छन् । भण्डारीको जनताको बहुदलीय जनवादलाई आज पनि एमालेले मान्दै आएको छ । तर, विडम्बना— उनका परिवारका सदस्यहरू पार्टीका सदस्य नै छैनन्।
भण्डारीकी पत्नी तथा पूर्वराष्टपति विद्या भण्डारी लामो समय एमालेसँग थिइन्, तर पछिल्ला वर्षमा उनी र उनका छोरीहरूले पार्टीभित्र स्थान पाउन सकेनन् । ओेलीले आफ्ना प्रतिस्पर्धी ठान्नेहरूलाई साइडलाइन गर्ने रणनीतिका कारण मदनकै श्रीमतीले औपचारिक रूपमा सदस्यतासम्म रोकिदिएका छन् ओलीले ।
यो प्रवृत्ति एमालेमै सीमित छैन। ऐतिहासिक रूपमा कांग्रेसमा पनि नेताहरू आफ्नै पार्टीमा अस्वीकार भएका उदाहरण धेरै छन् । लोकतन्त्रका अभियन्ता गणेशमान सिंह पार्टीबाट अलग भएका थिए, कृष्णप्रसाद भट्टराईलाई पनि कांग्रेसले अन्त्यसम्म सम्मानपूर्वक राख्न सकेन ।
अब त्यही रोग एमालेभित्र देखिएको छ— जहाँ संस्थापक र प्रतीक परिवारहरू पार्टीका मूलधारबाट टाढा परेका छन् ।
संस्थापक मात्र होइन, एमाले निर्माणमा दशकौं समर्पित वरिष्ठ नेताहरू पनि अहिले पार्टीबाहिर छन् ।
माधवकुमार नेपाल र झलनाथ खनाल— दुबैजना एमालेका पूर्वअध्यक्ष हुन्, तर अहिले ‘एकीकृत समाजवादी’ पार्टीमार्फत अलग बाटो हिँडिरहेका छन् । वामदेव गौतम, भीम रावलजस्ता नेताहरू पनि एमालेमा छैनन । उनीहरु सबै अहिले प्रचण्ड नेतृत्वको नेपालीक म्युनिष्ट पार्टीमा आवद्द छन् ।
अर्थात्, एमाले आज ‘व्यक्तिगत नेतृत्वकेन्द्रित’ संगठनमा परिणत हुँदै गएको देखिन्छ, जहाँ विचारभन्दा पनि व्यक्ति केपी ओली निर्णायक बनेका छन् । एमालेले अब आफ्नो ऐतिहासिक जरा र विचारका उत्तराधिकारीहरूसँग सम्बन्ध विच्छेद गरेको छ ।
पुष्पलाल, मनमोहन, मदन भण्डारी— यी तीन नामहरू बिना एमालेको इतिहास अपूर्ण हुन्छ । तर, विडम्बना— यी तीनै परिवार बिना अहिलेको एमाले पूर्ण देखिन खोज्दैछ ।
इतिहासले फेरि प्रश्न सोध्दैछ — एमाले अब विचारको पार्टी हो कि व्यक्तिको संगठन?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मीनबहादुर गुरुङको भवन प्रस्ताव नलिने एमालेको निर्णय
एमालेमा निर्वाचन समीक्षा कार्यदल गठनको प्रस्ताव
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
सुकुमबासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरियो: एमाले
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?