काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र संगठनले आवश्यक तयारी सुरु गरेका छन् । महाधिवेशनको प्रतिनिधि चयन देशभर आगामी मंसिर १३ गते एकसाथ हुने एमाले सचिवालयले जनाएको छ ।
आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा कुल दुई हजार १२७ प्रतिनिधि कायम गर्ने गरी यही कात्तिक १५ गतेको एमालेको सचिवालय बैठकले निर्णय गरेको थियो । सोबमोजिम तयारी गर्न अन्तरपार्टी निर्देशन दिइएको छ ।
एमालेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले पार्टी सदस्यताको संख्या अनुपातमा विभिन्न क्षेत्र छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको बताए । यस मापदण्डलाई मातहतका जिल्ला कमिटी र जनसंठनले कार्यान्वयनका लागि सम्पर्क तथा आवश्यक समन्वय सुरु गरेका उनले जानकारी दिए ।
कहाँबाट कति प्रतिनिधि ?
महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५५ प्रतिनिधि सहभागी हुनेछन् । यस्तै, अनुशासन आयोगबाट २९, केन्द्रीय निर्वाचन आयोगबाट ३०, लेखा आयोगबाट २५, केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचितसहित २५, स्वदेशका प्रदेशस्तरीय (विशेष प्रदेशसहित)का कमिटीबाट ४५ (कम्तीमा दुई महिलासहित पाँचका दरले) प्रतिनिधि सहभागी हुनेछन् ।
यसैगरी, १६५ संघीय निर्वाचन क्षेत्रबाट एक हजार १३५, स्वदेशका विशेष जिल्ला कमिटीअन्तर्गत ४७, दलित आरक्षणअन्तर्गत ८१ (कम्तीमा महिलासहित), श्रमिकबाट ४०, प्रवास कमिटीबाट ३५ (तीन महिलासहित) प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै, केन्द्रीय विभागबाट ३२, जनसंगठनबाट १३७ (महिलासहित), पार्टी केन्द्रले मनोनित गर्ने १०१ गरी कुल प्रतिनिधि दुई हजार १२७ हुनेछन् ।
हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनिका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुनुपर्नेछ । न्यूनतम एक हजार २०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक महिला प्रतिनिधि हुनेछन् । त्यसपछि प्रत्येक ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक
महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै