एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भेट हुने सम्भावना रहेको छ । ट्रम्पले आफू किमलाई भेट्नका लागि एसिया भ्रमण केही दिन लम्ब्याउन सक्ने बताएका छन् ।
यद्यपि, ट्रम्पले भेटवार्ताबारे कुनै निश्चित योजना नभएको बताए । सीएनएनका स्रोतहरूका अनुसार, ट्रम्प प्रशासनका अधिकारीहरूले गोप्य रूपमा दुई नेताबीचको सम्भावित बैठकबारे छलफल गरिरहेका छन् ।
ट्रम्पको पहिलो कार्यकालमा पनि यस्तै भएको थियो । सन् २०१९ जुन २९ मा ट्रम्पले ट्विट गरेर किम जोङ उनसँग भेट्ने प्रस्ताव गरेका थिए । त्यसको २४ घण्टापछि नै दुई नेताबीच भेट भएको थियो । त्यतिबेला ट्रम्प दक्षिण कोरियाको भ्रमणमा थिए र किम जोङ ट्रम्पलाई भेट्न सीमासम्म पुगेका थिए ।
ट्रम्प ६ वर्षपछि जापानको भ्रमणमा पुगेका थिए । यसअघि उनी सन् २०१९ मा अन्तिमपटक जापान आएका थिए । यो भ्रमणका क्रममा ट्रम्पले जापानी प्रधानमन्त्री सनाए ताकाइचीसँग व्यापार र लगानी सम्झौताबारे छलफल गर्नेछन् ।
जापानले यसअघि नै अमेरिकामा करिब ४६ खर्ब रुपैयाँ (४६ लाख करोड) लगानी गर्ने वाचा गरिसकेको छ । ट्रम्पको यो भ्रमणमा उक्त लगानीसम्बन्धी विस्तृत योजना तय हुने अपेक्षा गरिएको छ ।
ट्रम्प जापानले अमेरिकामा चिप्स, औषधि, जहाज निर्माण र ऊर्जा क्षेत्रहरूमा लगानी बढाओस् भन्ने चाहन्छन् । यसले अमेरिकामा रोजगारी सृजना गर्न र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन मद्दत गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीन पुगे किम जोङ उन
बेइजिङ गए उत्तर कोरियाली नेता किम जोङ उन
आणविक युद्धको जोखिम अहिले जस्तो चरम कहिल्यै थिएन : कीम