बेइजिङ गए उत्तर कोरियाली नेता किम जोङ उन

एजेन्सी

मंगलबार, १७ भदौ २०८२, ०८ : १७
बेइजिङ गए उत्तर कोरियाली नेता किम जोङ उन

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्। उनी त्यहाँ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुनेछन्। 

यस अवसरले किमलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य देशका नेताहरूसँग भेट गर्ने अवसर मिल्नेछ। यो उनको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय सहभागिता मानिएको छ।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार किम मंगलबार बख्तरबन्द रेलमार्फत चीन प्रवेश गरेका हुन्। सुरक्षा कारण रेल ढिलो गतिमा यात्रा गर्ने भएकाले उनलाई बीजिङ पुग्न करिब २४ घण्टा लाग्ने अनुमान गरिएको छ।

यसअघि सन् १९५९ पछि पहिलोपटक कुनै उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा उपस्थिति जनाउन लागेका हुन्। यसपटकको कार्यक्रममा म्यानमार, इरान, क्युबा लगायतका २६ राष्ट्रप्रमुख सहभागी हुने अपेक्षा गरिएको छ।

सन् २०१५ को विजय दिवस परेडमा उत्तर कोरियाले उच्च अधिकारी छोए रयोङ-हेलाई पठाएको थियो भने किम स्वयं अन्तिमपटक २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा बेइजिङ पुगेका थिए।

प्रतिक्रिया दिनुहोस