सप्तगण्डकीमा बीबीए, बीसीए र बीअाईएमको पढाइ हुने

विहीबार, २० मंसिर २०७५, ०९ : ४५
सप्तगण्डकीमा बीबीए, बीसीए र बीअाईएमको पढाइ हुने

- प्रकाश आचार्य
चितवन l विश्वविद्यालय अनुदान आयोगबाट शैक्षिक गुणस्तरीयताको प्रमाण–पत्र प्राप्त गर्न सफल भरतपुरको केन्द्र भागमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन कार्य सुरु हुन लागेको हो ।
गतवर्ष विश्वविद्यालय अनुदान आयोगबाट मूल्याङ्कन गरी देशभरीका उत्कृष्ट क्याम्पसभित्र पर्न सफल सप्तगण्डकी क्याम्पसले यसै शैक्षिक वर्ष २०७५/०७६ देखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राविधिक विषयतर्फ बीबीए, बीसीए र बीआईएम विषयको पठन–पाठन कार्य सुरु गरेको हो ।
सामुदायिक क्याम्पसको रुपमा २०४५ सालमा स्थापित यस सप्तगण्डकी बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । यहाँ उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा उच्च तहको ओहदामा समेत पुग्न सफल भएका प्रसस्तै उदाहरणहरु छन् । क्याम्पसले केही वर्षदेखि शैक्षिक गुणस्तर सुधारलाई आफ्नो पहिलो प्राथमिकतामा राख्दै नियमित अध्ययन–अध्यापन तथा अनुसन्धान कार्यलाई पनि जोड दिने गरेको बताइएको छ ।
“हामीले केही वर्षदेखि दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै विद्यार्थीहरुलाई अनुशासित एवम् लगनशील बनाउने प्रयत्न गरिरहेका छौं । यसमा यहाँ क्रियाशील सबै विद्यार्थी संघ÷संगठन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी भाईबहिनीहरुको समेत ठूलो हात रहेको छ” हालै दोस्रो कार्यकालमा पुनः नियुक्त भएका सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरेले सफल खबरसँग बताए ।


उनी भन्छन् “क्याम्पसले त्तब्ब् प्राप्त गर्नु ठूलो उपलब्धी भएपनि यसलाई दिगो बनाउन सक्नु सबैभन्दा ठूलो चुनौती रहेको मेरो बुझाई छ ।” शैक्षिक गुणस्तर विकासका लागि प्राध्यापक, कर्मचारीको मेहनतले मात्रै नहुने भन्दै सहायक क्याम्पस प्रमुख घिमिरे भन्छन् “विद्यार्थीहरुमा पठनशैलीको विकास र लगनशीलता महत्वपूर्ण पक्ष हो । शिक्षा आर्जन गरेर भोली केही बन्नको लागि आजैदेखि अनुशासित बन्दै आफ्नो अध्ययन कार्यलाई निरन्तर अगाडि बढाउनुपर्छ ।”
क्याम्पसमा हाल राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा ११ र १२ को पढाई हुनुका साथै स्नातक तहमा मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान संकायमा वातावरणीय विज्ञान विषयको पढाई हुने गरेको छ भने स्नातकोत्तर तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकाय अन्तर्गतको ग्रामिण विकास विषयको अध्ययन हुँदै आएको क्याम्पसले जनाएको छ ।
त्यसैगरी क्याम्पसले प्राविधिक शिक्षामा समेत जोड दिँदै स्नातक तह अन्तर्गतको व्यवस्थापन संकायमा बीबीए र बीआईएम तथा मानविकी संकाय अन्तर्गतको बीसीए विषयको अध्यापन कार्य सञ्चालन अनुमित लिई भर्ना कार्यक्रम चलिरहेको क्याम्पस प्रमुख खेमनारायण सापकोटाले बताए । उनका अनुसार “प्रविधिको युगमा प्राविधिक विषयको विशेष महत्व र आवश्यकताको अनुभूति गरी हाम्रो यस सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षालाई भित्र्याइएको हो । जिल्लाका अन्य क्याम्पसहरुमा भन्दा केही फरक र विशेष विषय समेत थप गरी यी प्राविधिक विषयको अध्यापन कार्य सञ्चालन गर्न लागेका छौं ।”
दोस्रो कार्यकालको लागि हालै नियुक्ति लिएका क्याम्पस प्रमुख खेमनारायण सापकोटाले भने “हामीहरुले मध्यम तथा निम्नवर्गका विद्यार्थी भाईबहिनीहरुको प्राविधिक शिक्षा लिने चाहनालाई पूरा गर्ने हेतुले सरकारी क्याम्पसले लिने शुल्ककै हाराहारीमा शुल्क लिएर पढाउन लागेका छौं ।” त्यसो त क्याम्पसले जिल्लाका अन्य क्याम्पसमा भन्दा विल्कुलै फरक पठनशैली र शैक्षिक वातावरण कायम गर्ने जनाएको छ ।
अत्याधुनिक कम्युटर प्रयोगशाला, ई–लाइब्रेरी, पुस्तकालय, विद्यार्थीमैत्री तथा सिकाई केन्द्रित पठन कार्य हुने गरेको बताउँदै क्याम्पस प्रमुख सापकोटाले उज्ज्वल भविष्य निर्माणको लागि सप्तगण्डकी क्याम्पसमा अध्ययनको लागि आउन सबैमा आग्रह गर्दै प्रमुख सापकोटाले भने “क्याम्पसलाई आजको अवस्थामा ल्याउन सहयोग गर्ने सम्पूर्ण स्थानीय अभिभावक, बुद्धीजीवी, सञ्चारकर्मी, क्रियाशील राजनीतिक दल, प्राध्यापक, कर्मचारीलगायत सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।”
क्याम्पसले विभिन्न शिर्षकमा पूर्ण तथा आंशिक रुपमा गरी झण्डै १० प्रतिशतभन्दा बढी विद्यार्थीहरुले छात्रवृत्तिमा अध्ययन गरिरहेको जनाएको छ । क्याम्पसले प्राप्त गरेको शैक्षिक गुणस्तरको प्रमाण–पत्र नै क्याम्पसको ठूलो उपलब्धी र शान भएको स्थानीय अभिभावकहरुको समेत बुझाई रहेको छ ।
बीबीएमा ३२ जना, बीसीएमा ३५ जना र बीआईएममा ३३ जना विद्यार्थीहरु अध्यापन गर्ने गरी त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएको क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस