ओलीले आज पत्रकारसँग सवालजवाफ गर्ने

जेनजी विद्रोहपछि पहिलो पटक अन्तरक्रिया

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०८२, ०९ : ०९
ओलीले आज पत्रकारसँग सवालजवाफ गर्ने

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौं २४ मा राजीनामा दिएर सेनाको हेलिकप्टर प्रयोग गरेर भागेका निर्वतमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आज पत्रकारहरुसँग सवालजवाफ गर्ने भएका छन् । 

आफैंले नयाँ सरकार गठनका लागि सुशीला कार्कीको नाममा कामचलाउ सरकारको प्रधानमन्त्रीको हैसियतामा सिफारिस गरेका एमाले अध्यक्ष ओलीले अहिले संसद पूर्नस्थापनाको माग गर्न थालेका मात्र छैनन, फागुन २१ मा घोषणा भएको चुनावमा समेत भाग नलिने अघोषित नीति बनाएका छन् । 

पार्टीभित्रै नयाँ नेतृत्वको लागि बाटो खोलिदिनुपर्ने माग बढिरहँदा ओलीले फेसबुकबाट आफनो राजीनामा माग्दैमा राजीनामा नदिने, महाधिवेशनबाट आफुलाई चुनौति दिन चेतावनी दिएर पार्टीको मंसिर २७ देखि २९ सम्म पोखरामा महाधिवेशन गर्ने गरी मिति तोकेका छन् ।

महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आउने गरी उनले विषयलाई विषयान्तर गर्न सफल ओलीले आज जेनजी विद्रोहपछि पहिलो पटक पत्रकारहरुसँग सवालजवाफ गर्न लागेका हुन् । उनले सम्पादकहरुलाई उक्त कार्यक्रममा निम्ताएका छन् । 

उनले जेनजी आन्दोलनपछिको विध्वंम्सलाई विदेशी षडयन्त्र बताईरहेका छन् । विगतमा नेकपाकालमा आफैले दुई दुई पटक संसद विघटन गरेको र त्यो संसद विघटनलाई सर्वोच्च अदालतले असम्वैधानिक घोषणा गर्दासम्म मित्री मनदेखि त्यसलाइ स्वीकार गर्न नसकेका ओलीले अहिले भने संसद पूर्नस्थापनाका लागि पार्टीले जनपरिचालनका कार्यक्रम घोषणा गर्ने नीति पार्टी बैठकबाट पारित गराएका छन् । 

प्रधानमन्त्री हुँदा सुरक्षा परिषद्को बैठक राखेर सुरक्षा तयारीका बारेमा कुनै छलफल नगरेको, जनेजी विद्रोहको दुई दिन अगाडीसम्म पार्टीको विधान महाधिवेशनमा कसरी पूर्व राष्टपति विधा भण्डारीको सदस्यता रोक्ने भनेर साम दाम दण्ड लगाईरहेका ओलीले पत्रकारहरुसँग खास सवाल जवाफ पनि गर्न चाहिरहेका थिएनन । 

प्रधानमन्त्री हुँदा समेत पत्रकारसँग सवालजवाफ नचाहेका ओलीले आज भने पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम बनाएका हुन् । आज दिउँसो १ बजे उनले जेनजी विद्रोहपछि पत्रकारहरूसँग पहिलो पटक अन्तरक्रिया गर्न लागेका हुन् । 

होटल ए वान भेन्यू कोटेश्वर चोकमा आज दिउँसो १ बजे ओलीले पत्रकारसँग अन्तरक्रिया गर्न लागेका हुन् । जेनजी विद्रोहका बेला प्रधानमन्त्री समेत रहेका, त्यसपछि सेनाको हेलिकप्टरबाटै राजीनामा दिएर मकवानपुरको सुपारीटार ब्यारेकमा भागेर बसेका ओलीले यस घटनालाई गर्ने विश्लेषण पत्रकारका लागि चासको विषय बनेको छ ।

यस अगाडी नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ललितपुरको महालक्ष्मीस्थानमै सम्पादकहरुसँग अन्तरक्रिया गरिसकेका छन् । प्रचण्डले पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको आयोजनामा सम्पादकहरुसँग अन्तरक्रिया गरेका थिए । 

ठिक त्यसैगरी ओलीले पनि एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको कभरमा आज सम्पादकहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस