जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिकै उत्कृष्ट

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०८२, १० : ३५
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिकै उत्कृष्ट

पर्वत । गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ।

गत आर्थिक वर्ष विसं २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो। 

एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।

उनको अनुुसार आर्थिक वर्ष विसं २०८१/०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अङ्क प्राप्त गरेको थियो।

गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। 

गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका मापदण्डहरूका आधारमा मूल्याङ्कन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस