देउवा विनै कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समिति बैठकमा आउलान् ?

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०८२, ०९ : ४९
देउवा विनै कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समिति बैठकमा आउलान् ?

काठमाडौं । गत भदौं २३ र २४ को जेन जी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पदाधिकारी बैठकमा पार्टी सभापति शेरवहादुर देउवा भने सहभागी हुने छैनन ।

देउवाले नै आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी कार्यालय देखि पार्टी सभापति शेरवहादुर देउवाको घरसम्म आगजानी, तोडफोड भएको र देउवा दम्पतीमाथी समेत निर्घात कुटपिट भएपछि देउवा सार्वजनिक भएका छैनन ।

उनी अहिले कहाँ बसिरहेका छन् भन्ने पनि कांग्रेस वा देउवा परिवारले समेत सार्वजनिक गरेको छैन । आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर, उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन ।

यधपी कांग्रेसले आज पदाधिकारी बैठक र २६ असोजमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा सभापतिको उपस्थिती हुन्छ या हुन्न भन्ने बारेमा निक्कै चासो थियो ।

२३ भदौंको जेन जी प्रर्दशनमा राज्य पक्षबाट भएको नरसंहार र त्यसको भोलिपल्ट भएको हिंस्रक आगजानी, तोडफोड र पार्टी सभापति दम्पतीमाथी सम्म भएको भौतिक आक्रमणपछि देउवाको अवस्थाका बारेमा सार्वजनिक चासो छ । तर देउवा दम्पतीले टेलिफोन वा निकट नेताहरुसँग गुपचुप भेटवार्ता गरेपनि सार्वजनिक रुपमा भने देखा परेका छैनन ।

आज दिउँसो कुपन्डोलस्थित हिमालयन होटलमा बस्ने केन्द्रीय पदाधिकारी बैठकमा समेत देउवा आउँछन् की भन्ने थियो । तर अन्तिम समयमा देउवाले आफु सहभागी नहुने र पार्टी उपसभापति पूर्णवहादुर खड्कालाई बैठकको अध्यक्षता गर्न निर्देशन गरेको कांग्रेस स्रोतले जनाएको छ ।

आजको बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसमा नियमित महाधिवेशन की विशेष महाधिवेशन, कार्याबाहक सभापति तोकेर जाने या देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने वा केन्द्रीय समिति नै विघटन गरेर कुनै नेताको नेतृत्वमा आयोजक समिति बनाएर जाने लगायतका विषयमा छलफल छ ।

देउवालाई दवाव बढाउन पार्टी महामन्त्री द्दय विश्वप्रकाश शर्मा र गगन थापा तथा शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर विशेष महाधिवेशन बोलाउन भन्दै गराईरहेका छन् ।

कांग्रेसका केही नेताहरुले संसद पूर्नस्थापनाको मुद्दामा जानुपर्ने माग पनि छ । निर्वाचन की संसद पूर्नस्थापनाको एजेण्डामा पनि कांग्रेसले केन्द्रीय समितिबाट आधिकारिक निर्णय लिने छ । यसबारेमा पनि छलफल आजको पदाधिकारी बैठकमा हुने छ ।

पदाधिकारी बैठकमा समेत नआएका देउवा केन्द्रीय समिति बैठकमा पनि आउने सम्भाबना न्यून देखिएको कांग्रेस स्रोतले बताएको छ । सभापतिमाथी निर्घात कुटपिट हुँदा समेत अहिले देउवा माथी नै महामन्त्रीहरुले दवाव बढाएपछि देउवा सम्मानजनक वर्हिगमनको पक्षमा छन् । सोही कारण पनि केन्द्रीय समितिमा देउवा उपस्थित हुने सम्भाबना कम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस