सहिद स्मृति माविले यसरी चलाउँदैछ प्राविधिक शिक्षा

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०७५, १९ : १२
सहिद स्मृति माविले यसरी चलाउँदैछ प्राविधिक शिक्षा

भरतपुर । भरतपुर ६ मा रहेको सहिद स्मृति मावि पारसनगरले व्यावसायिक तथा प्राविधिक शिक्षा चलाउन महायज्ञ गर्न लागेको छ । मूल समारोह समितिले आज पत्रकार सम्मेलन गरी पौष ५ देखि १३ गतेसम्म महायज्ञ गर्ने जनाएको छ । 
श्रीमद्भागवत् महापुराण एवम् धनधान्यचल ज्ञान महायज्ञ तथा स्वर्ण महोत्सवस्वर्ण महोत्सवअन्तर्गत आयोजित महायज्ञको उद्घाटन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट हुने आयोजकले जनाएको छ । 

महायज्ञ मूल समारोह समितिका अध्यक्ष विष्णुप्रसाद तिवारीले कक्षा ११ र १२ मा व्यावसायिक तथा प्राविधिक शिक्षा सञ्चालनको लागि श्रीमद्भागवत् महापुराण एवम् धनधान्याचल ज्ञान महायज्ञ गर्ने लागेको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले पौष ५ गते शोभायात्रासहित नेकपाका अध्यक्ष प्रचण्डबाट उद्घाटन हुने बताउनुभयो । पौष ६ देखि १२ गतेसम्म सप्ताह पाठ पारायण तथा कथा वाचन हुनेछ । युवा पं बालकृष्ण अर्यालले कथा वाचन गर्नुहुनेछ । पौष १३ गते सम्म हुने महायज्ञबाट ४ करोड ५० लाख उठाउने लक्ष्य रहेको महायज्ञ मूल समारोह समितिले जनाएको छ । 

सामुदायिक विद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना भएको महसुस भएकाले विद्यालयमा स्थानीय अभिभावक र विद्यार्थीहरुको मागमा आधारित प्राविधिक र व्यावसायिक शिक्षा सञ्चालन गर्नुपर्ने भएकाले महायज्ञबाट आर्थिक संकलन गर्न खोजिएको विद्यालयले जनाएको छ । 

‘यो विद्यालय सम्भवत चितवन जिल्लामै सबैभन्दा कम जग्गा भएको मावि हो, यस विद्यालयमा जग्गादेखि थप भौतिक संरचना आवश्यक छ’ महायज्ञ मूल समारोह समितिका अध्यक्ष विष्णुप्रसाद तिवारीले भने, ‘विद्यालयको पठनपाठनलाई नवीन प्रविधियुक्त बनाउन खोजिएको हो, यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।’

महायज्ञमा सबैभन्दा बढी दान दिने दातालाई सम्मानसहित आजीवन प्रमुख संरक्षक घोषणा गरिनेछ । ५० लाख भन्दा माथि दान दिने दातालाई नेपाल सरकारको शिक्षा ऐनको व्यवस्थाअनुसार सम्मान गरिने बताइएको छ । महायज्ञ सम्पन्न गर्न ४० लाख खर्च हुने अनुमान आयोजकले गरेका छन् । हाल विद्यालयमा बालविकासमा समेत गरी ५०२ जना छात्रछात्रा अध्ययनरत रहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस