गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०८२, ११ : ५९
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन् । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो । 

गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । सोही विषयमा कुराकानी गर्दै अध्यक्ष यादवले सरकारले अनुसन्धान अघि बढाए आफूले अनुसन्धानमा सहयोग गर्ने बताए । 

उनले अदालतलाई आफूहरूले सम्मान गर्ने भन्दै घटना भएको बेलामा पनि सरकारले अनुसन्धान गरी तथ्य बाहिर ल्याइसकेको बताए । न्यायिक जाँचबुझ आयोगका साथै मानव अधिकार आयोग, राष्ट्रसङ्घीय मानव अधिकार आयोगले समेत यस विषयमा अनुसन्धान गरेर आफ्ना प्रतिवेदनहरू ल्याइसकेको बताए । 

त्यही बेला नै मुद्दा अघि बढ्न सक्ने अवस्था नरहेको र करिब १९ वर्षपछि आएर पुनः मुद्दा अघि बढाउनु राजनीतिक प्रतिशोध हुनसक्ने अध्यक्ष यादवको भनाइ छ । तर अझै पनि फैसलाको पूर्णपाठ नआईकन मुद्दाबारे बोल्नु हतार हुने उनले बताए । आफूहरू जनताको अधिकारको लागि लडेको व्यक्ति भएकाले आत्तिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ । 

फैसलाप्रति आफू नआत्तिएको र आत्तिनुपर्ने जरुरी नदेखेको पनि उनले बताए । यसअघिको जाँचबुझ आयोगहरुले पनि प्रतिवादी र मुख्य प्रतिवादी आक्रमणकारीलाई देखाएको भन्दै आफूले केही नबिराएकाले डराउनुपर्ने जरुरी नरहेको उनको टिप्पणी छ । यो राजनीतिक विषय भएकाले राजनीतिक शक्तिहरूले समाधानको बाटो खोज्नुपर्ने बताए । 

गौर नरसंहारमा मारिएका आफन्त तथा घाइतेहरूले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेका थिए । मुद्दामा विपक्षी बनाइएकाले प्रहरी मुख्यालय, गृह मन्त्रालयलगायतका नाममा समेत सर्वोच्च अदालतले आदेश दिएको छ । 

२०६३ को चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँ कार्यक्रम आयोजना गरेका थिए । त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस