काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशसभाभित्र देखिएको आन्तरिक विवाद सभापति शेरवहादुर देउवाको उपस्थितीमा सहमति खोजिएको छ । पार्टी प्रदेश संसदीय दलमा पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र संसदीय दलमा निर्वाचित कांग्रेस बागमती प्रदेश कार्यसमितिका अध्यक्ष समेत रहेका इन्द्र बानियाँ दुवैलाई सँगै राखेर सभापति देउवाले सहमति निकालेका हुन् ।
छलफल अगाडी मुख्यमन्त्री बानियाँले तीन बुँदे माग राखेका थिए । लामाको मागमा सभापति देउवाले बानियाँलाई पनि आफनो निवास बुढानिलकण्ठ बोलाएर सहमति गराएका थिए ।सहमति अनुसार, अब मुख्यमन्त्री लामाले आज पहिले आफनो क्याबिनेटको अन्तिम बैठक बोलाउनेछन्, त्यहाँ आफना कुरा राख्नेछन्, त्यसपछि पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिनेछन् । अनि कांग्रेस संसदीय दल नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्न बाटो खोलिदिनेछन् ।
लामा र बानियाँ दुवै सभापति देउवा निकटका नेता हुन् । तर, दुवैका बीचमा मुख्यमन्त्री बन्ने अस्वस्थ्य प्रतिस्पर्धा चल्दा मुख्यमन्त्री लामाविरुद्द दल नेतामा अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्ताव पारित भएपछि भएको दल नेता छान्ने चुनावमा पनि बानियाँसँग लामा पराजित भए । त्यसपछि लामाले संविधान अनुसार अझै आफुले सरकार छोड्न नपर्ने भन्दै राजीनामा दिन अटेर गदैं आएका थिए ।
त्यसपछि देउवाले दुवै नेतालाई काठमाडौं बोलाएर सहमति कोसिस गरेका थिए । सभापतिसँगको छलफलमा लामाले आफुले राजीनामा दिनु अगाडी आफना तीन बुँदे मागमा सहमति गर्नुपर्ने प्रस्ताव गरेका थिए । लामाले आफुले नियुक्त गरेका तीन मन्त्रीलाई मन्त्री नियुक्त गर्नुपर्ने, पहिलो चरणमै सपथ खुवाउनु पर्ने, सरकार र पार्टी सञ्चालन आपसी समझदारीमा गर्नुपर्ने र अहिलेको अन्यौललाई निकास दिँदै नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्ने प्रस्ताव बैठकमा राखेका थिए । लामाको त्यस्तो प्रस्तावपछि सभापति देउवाले बानियाँलाई बोलाएर सहमति गर्न निर्देशन गरेका थिए ।
त्यसपछि लामा र बानियाँबीच सभापति देउवाकै अगाडी लामाले राखका यी तीन बुँदामा सहमति बनेको लामाले बताएका छन् । अब सहमति अनुसार, आजै लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनेछन् । त्यसो हुँदा लामाले गत बुधबार दल नेता पराजित भएपछि नियुक्त गरेका तर सपथ लिन नपाएका तीन जना मन्त्रीहरुले बानियाँ नेतृत्वको सरकारमा मन्त्रीका रुपमा नियुक्त भई पहिलो चरणमै सपथ लिन पाउनेछन् । लामाले संसदीय दल चुनावमा आफुलाई साथ दिएका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।
कांग्रेसको आन्तरिक किचलोका कारण लामाले नियुक्त गरेका यी तिनै जनालाई सपथ नखुवाई प्रदेश प्रमुख उपचारका लागि काठमाडौं आएका थिए । त्यसपछि उनीहरुको सपथ रोकिएको थियो । अव बानियाँले उनीहरुलाई आफनो क्याबिनेटमा मन्त्री नियुक्त गर्नुपर्नेछ ।
बागमती प्रदेशको सरकार र पार्टी सञ्चालनमा पनि बानियाँले लामासँग सहकार्य र छलफल गरेर अगाडी बढनुपर्नेछ । त्यसका आधारमा लामाले राजीनामा दिएर मार्गप्रसस्त गर्नेछन् । केन्द्रमा जस्तै बागमती प्रदेश सभामा पनि कांग्रेस र एमाले गठबन्धनको सरकार छ ।
यहाँ सुरुमा कांग्रेस र त्यसपछि एमालेले सरकारको नेतृत्व आलोपालो गर्ने समझदारीका आधारमा सरकार गठन भएको छ । अब एमालेसँगको सहमतिका आधारमा ९ महिना कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । त्यसपछि कांग्रेसले एमाले प्रदेश सभाको दल नेतालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीको कार्यालयमा तोडफोड
अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने