एमाले र नेतृत्वमाथि हमलाको प्रतिवाद नपुगेको निचोडसहित यस्ता छन् संगठन विभागका निर्णय

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०८२, १३ : २६
एमाले र नेतृत्वमाथि हमलाको प्रतिवाद नपुगेको निचोडसहित यस्ता छन् संगठन विभागका निर्णय

काठमाडौँ । नेकपा एमाले केन्द्रीय संगठन विभागको बैठकले विभिन्न ४ वटा विषयमा निर्णय गरेको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा सोमबार सम्पन्न बैठकले पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आसन्न विधान महाधिवेशन, राष्ट्रिय राजनीतिक परिस्थितिबारे निर्णय लिइएको विभागका सचिव माधव ढुंगेलले बताए ।

बैठकले पछिल्लो समय पार्टी र नेतृत्वमाथि भइरहेको हमला र गलत अफवाहको प्रतिवाद अझै नपुगेको निष्कर्ष निकालेको छ । त्यस्तै पार्टी कमिटी र जनसंगठनका अधिवेशनका क्रममा जिम्मेवारी बाहिर रहेका नेता/कार्यकर्तालाई यथाशीघ्र उपयुक्त जिम्मेवारीमा व्यवस्थापन गर्न सम्बन्धित नेतृत्वलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

पार्टीको सदस्यता नवीकरणपूर्व अनिवार्य रूपमा परीक्षा दिनुपर्ने व्यवस्थामा जाने, सदस्यता अभिलेखीकरण र विस्तारको निरन्तरता, समुदायसँग जनसंगठन, दुई पुस्ता सँगसँगैलगायतका अभियान चलाउने पनि निर्णय गरिएको छ ।

भदौ २०-२२ मा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनबारे केन्द्रीय कमिटी बैठकको प्रस्तावमा मर्यादित ढंगले छलफलमा भाग लिन र सुझाव पठाउन पनि पार्टी पंक्तिलाई आव्हान गरिएको छ ।