नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन: अध्यक्ष ढकाल

सफल खबर संवाददाता

शनिबार, २८ असार २०८२, १७ : १६
नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरूलाई नेपालमै बस्न आग्रह गरेका छन् । आज आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गरे । 

“नेपालमा व्यावसायिक रूपमा अपार सम्भावना छन्, नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, म पनि वैदेशिक रोजगारीका सिलसिलामा जापानमा गएर काम पनि गरेको छु, अनुभवका अधारमा मलाई नेपालका हरेक क्षेत्रमा सम्भावना छन्”, 

उनले सरकारले गर्न खोजेको र समाजको आवश्यकता सम्बोधन हुने खालको काम गर्न सकियो भने सफल हुन समय नलाग्ने उल्लेख गरे । नेपालमै पढ्न र नेपालमै अवसर खोज्नका लागि पनि उनले आग्रह गरे ।

“मैले सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ, सानै उमेरदेखि नै व्यावसायिक क्षेत्रमा केही गरौँ भन्ने सोच थियो, महत्वाकांक्षी नभई इमान्दार भएर काम गर्ने हो भने सफल भइन्छ भन्ने मेरो अनुभव छ”, उनले भने । 

उनले नेपालमा राम्रा कलेज र विश्वविद्यालय भएको उल्लेख गर्दै पढ्नका लागि विदेश जानुपर्ने अवस्था अहिले नरहेको बताए । आफू विश्वका सबै जसो देशमा पुगेको बताउँदै उनले ढकालले नेपाल जस्तो सम्भावना, अवसर भएको ठाउँ अन्यत्र नभएको बताए ।