काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको बताएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् । उनले सहज मुद्रास्फीति, सुविधाजनक विदेशी विनिमय सञ्चितिको स्थिति र परिदृश्यलाई मध्यनजर गरिरहेको समेत बताए ।
उनले यसबाट निजी क्षेत्रको पुँजी निर्माण र सरकारको आन्तरिक ऋण परिचालनको लागतमा समेत कमी आई आर्थिक गतिविधि अभिवृद्धि सहज हुने अपेक्षा गरिएको पनि उल्लेख गरे । गभर्नर पौडेलले भने,‘ वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि तथा कर्जा अधिकेन्द्रीकरण कम गर्न मौद्रिक उपाय र विवेकशील नियमन लगायतका नियामकीय व्यवस्थाहरूमा तादात्म्यता कायम गरिएको छ ।
खुला बजार कारोबार एवम् ब्याजदर करिडोरलाई थप सुदृढ बनाई मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाइएको छ ।’ उनले आर्थिक वर्ष २०८२/८३ मा ५.० प्रतिशतको हाराहारीमा मुद्रास्फीति र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने बताए ।
उनले नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापन गरिने उल्लेख गरे । गभर्नर पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको बताए ।
उनले अन्तरिम र सञ्चालन लक्ष्य नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अङ्कुशको रूपमा लिइँदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रूपमा यथावत् राखिएको बताए । गभर्नर पौडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा यथावत् राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनलाई निरन्तरता दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
लगानीकर्ताहरूले सेयर बजार सुधार्न गभर्नरलाई भेटेर दिए ६ सुझाव
बैंकिङ क्षेत्र सुधार कार्यदलले गभर्नरलाई बुझायो प्रतिवेदन
गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन