योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक : उपसभामुख राना

सफल खबर संवाददाता

आइतबार, २२ असार २०८२, १९ : ५९
योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियान्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताएकी छन् । 

राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उपसभामुख रानाले निरंकुश राणाशासनकालमा योगमायाले देखाउनुभएको साहस र सामाजिक जागरणका लागि गरेको संघर्ष आजका पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताएकी हुन् । 

राणाशासनमा लेख्न, बोल्न र सङ्गठित हुन निषेध गरिएको अवस्थामा योगमायाले सामाजिक सुधार र महिला अधिकारका लागि गरेको योगदान अविस्मरणीय छ”, उनले भनिन्, “आजको पुस्ताले योगमायाको जीवनबाट प्रेरणा लिएर महिला हकअधिकारको क्षेत्रमा अझ समर्पणका साथ अघि बढ्नुपर्छ ।”

महिलामाथिको विभेद, हिंसा र अन्यायको अन्त्य गर्न प्रभावकारी कानुनी कार्यान्वयन र घरघरमा चेतनामूलक अभियान चलाउनु आवश्यक रहेको उनको भनाइ छ ।

योगमायाले सुरु गरेको सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको यात्रा अझै सान्दर्भिक रहेको उल्लेख गर्दै उपसभामुख रानाले राज्यका सबै संरचनामा महिलाको समान सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताइन् । 

प्रतिक्रिया दिनुहोस