मकवानपुर । बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
गत असार १२ गतेका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गते सारिएको जानकारी गराएको थियो ।
आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, बजेटमाथिको छलफल र त्यसपछि हुने संशोधन प्रस्तावहरूलाई समेटेर बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी गरिएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको बजेटप्रति सत्तारुढ दलकै सांसदहरूबिच असन्तुष्टि देखिएको छ । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले बजेटमा विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गर्दै आएका छन् । कांग्रेस सांसदको बजेट माथिको असन्तुष्टिका कारण संसदीय दलको बैठक नै प्रभावित भएको थियो ।
नेपाली कांग्रेसका सांसदहरूले सरकारको प्राथमिकता प्राप्त योजना बजेटमा नपरेको गुनासो गर्दै आएका छन् भने एमालेभित्र पनि योजना छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै आन्तरिक असन्तोष देखिएको छ । केही सांसदहरूले बजेट संशोधनको माग गर्दै सार्वजनिक रूपमा असहमति जनाइसकेका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । जसमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित