सबै स्थानीय तहले आज ल्याउँदैछन् बजेट

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, ०७ : ३५
सबै स्थानीय तहले आज ल्याउँदैछन् बजेट

काठमाडौ । आज देशैभरिका सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्।   

आर्थिक वर्ष २०८२/०८३ का लागि देशभरका सातसय ५३ स्थानीय तहले मंगलबार बजेट सार्वजनिक गर्न लागेका हुन्। 

स‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार सातसय ५३ पालिकामध्ये सोमबारसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने प्रावधान छ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ। ​ 

कसरी बन्छ स्थानीय तहको बजेट?
स्थानीय सरकार सञ्चालन ऐन- २०७४ अनुसार बजेट पेस र पारित गर्ने व्यवस्था छ। उक्त ऐनको दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ। 

उक्त बजेटको वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको अन्तिम सम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आयव्ययको अनुमानित विवरण खुलाउनुपर्नेछ।

पेस भएको बजेटमाथि कार्यतालिका बनाई १५ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्नेछ। छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्नेछ।

सुझावसहित प्राप्त भएको बजेट उपर कार्यपालिकाले पुनःविचार गरी आवश्यक परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा पाँच दिनभित्र पुनःपेस गर्नुपर्नेछ। सभाले पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस