काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११ महिनामा देशमा सवा दुई खर्ब बढी सार्वजनिक ऋण थपिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा जेठ मसान्तसम्म आइपुग्दा उक्त ऋणको हिस्सा दुई खर्ब २० अर्ब ५८ करोडले थपिएर २६ खर्ब ५४ अर्ब ६६ करोड ८ लाख पुगेको हो ।
११ महिनामा सवा दुई खर्ब ऋण थपिएसँगै देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.४७ प्रतिशत पुगेको छ । जुन ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.०६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण दायित्व १२ खर्ब ७२ अर्ब ५३ करोड ३० लाख रुपैयाँ रहेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको २२.३१ प्रतिशत हो । त्यस्तै, समीक्षा अवधिसम्म वैदेशिक ऋण दायित्व १३ खर्ब ८२ अर्ब १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको २४.२३ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा जेठ मसान्तसम्म चार खर्ब १४ अर्ब १९ करोड प्राप्ति गरेको जनाएको छ । त्यस्तै, लक्ष्य अनुसार समीक्षा अवधिमा आन्तरिक ऋण ९५.४५ र बाह्य ऋण ४५.७२ प्रतिशत प्राप्त भएको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।
कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋण सेवाका लागि चार खर्ब दुई अर्ब ८५ करोड २६ लाख बजेट व्यवस्था गरेको थियो । जसमध्ये जेठ मसान्तसम्म ८१ प्रतिशत खर्च भएको छ । सो अवधिसम्म कुल ऋण भुक्तानीमध्ये आन्तरिक ऋण भुक्तानीको लागि ८२.४२ प्रतिशत र बाह्य ऋण भुक्तानीको लागि ७८.७२ प्रतिशत खर्च गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन
तीन मन्त्रीको सहभागितामा आन्दोलनरत डाक्टर र सरकारबीच आज साँझ वार्ता हुने
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय