एजेन्सी । भारतको इन्डियन नेसनल कांग्रेसका नेता र तथा लोकसभामा विपक्षी नेता राहुल गान्धीले भारतको निर्वाचन आयोगविरुद्ध चुनाव धाँधलीको आरोप लगाएका छन् ।
हालै उनले सञ्चारमाध्यमहरूमा ‘म्याच फिक्सिङ महाराष्ट्र’ शीर्षकको लेखमार्फत विभिन्न सवाल उठाउँदै प्रश्नहरूको जवाफ पनि मागेका छन् ।
राहुल गान्धीले निर्वाचन आयोगलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा एक पोस्ट गरेका छन्, “तपाईं संवैधानिक संस्था हुनुहुन्छ । हस्ताक्षर नभएको, टालमटोल गरिएको नोट जारी गरेर गम्भीर प्रश्नहरूको जवाफ दिने तरिका होइन ।”
राहुल गान्धीले ‘म्याच फिक्सिङ महाराष्ट्र’ शीर्षकको लेखमा महाराष्ट्र विधानसभा निर्वाचनमा व्यापक र योजनाबद्ध धाँधलीको आरोप लगाएका थिए । यसपछि समाचार एजेन्सीहरूमार्फत निर्वाचन आयोगले यसको खण्डन गर्दै जवाफ दिएको थियो ।
निर्वाचन आयोगले भनेको थियो, “महाराष्ट्र मतदाता सूचीमा लगाइएका निराधार आरोपहरू कानुनी शासनमाथि आक्रमण हो । यो कुरा आयोगले २४ डिसेम्बर २०२४ मै कांग्रेस पार्टीलाई दिएको जवाफमा सबै तथ्यहरू स्पष्ट पारिसकेको छ । यी तथ्यहरूलाई बेवास्ता गरेर बारम्बार यस्ता मुद्दा उठाइएको देखिन्छ ।”
आयोगले अगाडि भन्यो, “गलत सूचना फैलाउनु केवल कानुन उल्लंघनमात्र होइन, हजारौँ निर्वाचन प्रतिनिधि र लाखौँ कार्यकर्ताहरूको मनोबल खसाल्ने कार्य पनि हो ।”
राहुल गान्धीले आयोगको खण्डन पत्रमा कसैको हस्ताक्षर नभएको प्रश्न उठाएका छन् ।
उनले लेखे, “यदि तपाईंसँग लुकाउन केही छैन भने मेरो लेखमा उठाइएका प्रश्नहरूको जवाफ दिनू,
१.महाराष्ट्रसहित सबै राज्यहरूका लोकसभा/विधानसभा निर्वाचनका डिजिटल, मेसिन–रिडेबल मतदाता सूची प्रकाशित गर ।
२. महाराष्ट्रका मतदान केन्द्रहरूको साँझ ५ बजेपछिको सीसीटीभी फुटेज सार्वजनिक गर ।
राहुल गान्धीले अगाडि भने, “तपाईंको विश्वसनीयता टालमटोल गरेर होइन, सत्य बोलेर मात्र कायम रहन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ जेठ २०८२, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत