नेपाल-चीन सम्बन्धमा कोशढुंगा : विद्या भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०८२, १६ : १५
नेपाल-चीन सम्बन्धमा कोशढुंगा : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले विआरआई परियोजनाबारे नेपाल र चीनबीच भएका समझदारीहरूले भूपरिवेष्टित राष्ट्र नेपाललाई भूजडित राष्ट्र बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्।

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारीले विआरआईले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जीवित, विस्तार र नवीकृत गर्ने लक्ष्य राखेको बताइन्।

उनले भनिन्, ‘एसिया, अफ्रिका र युरोपभर सडक, रेल, बन्दरगाह, पाइपलाइन र डिजिटल पूर्वाधार विस्तार गर्नु यस पहलका मुख्य पक्ष हुन् । बी.आर.आई.ले सहभागी देशहरू बीच पारस्परिक समझदारी र सहयोगलाई बढवा दिने माध्यमको रूपमा सांस्कृतिक आदानप्रदानमा विशेष जोड दिएको कुरा पनि उल्लेखनीय छ।’

नेपालले पनि ऐतिहासिक रूपमा चीन र भारत बीचको सांस्कृतिक तथा व्यापारिक माध्यमको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरिन्। उनले थपिन्, ‘सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सैद्धान्तिक सहमति बमोजिम दुवै राष्ट्रले सन् २०१७ मा एक फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि नेपाल औपचारिक रूपमा बी.आर.आई.मा आबद्ध भएको हो । गत डिसेम्बर सन् २०२४ मा नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा नेपाल र चीनले पुनः बी.आर.आई. सहयोग फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् ।’

बी.आर.आई. अन्तर्गत हिमालय सीमापार बहु आयामिक सम्पर्क सञ्जाल र विकास साझेदारी एवं साझा भविष्यको अवधारणा प्रमुख अङ्गको रूपमा रहेको उल्लेख गरिन्। विआरआई नेपाल–चीन सम्बन्धमा एउटा कोशेढुङ्गाको रूपमा रहेको उल्लेख गरिन्।

 

प्रतिक्रिया दिनुहोस