संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०८२, १२ : ०३
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्‌मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको माओवादीले बिहीबार सरकारले ल्याएको आगामी वर्षको बजेट पेस गर्न दिएको थियो ।

संसद्‌मा अवरोध जारी राख्ने कि विकल्पमा जाने भन्ने विषयमा विज्ञहरूको रायबाट थप निर्णय लिने माओवादीको तयारी छ । ‘प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन विज्ञ सहितको संसदीय दलको बैठक बोलाएको छ ।

संसद्को अवरोधलाई जारी राख्ने कि वैकल्पिक उपाय खोज्ने भन्ने विषयमा विज्ञहरूको सहयोग लिनेछौँ । जेठ १९ गते बस्ने बैठकले नै निर्णय गर्नेछ’, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस