महोत्सवको हल्लाले पढाईमा असर

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, ०२ मंसिर २०७५, १६ : १६
महोत्सवको हल्लाले पढाईमा असर

चितवन । रत्ननगरमा मंसिर १ गतेदेखि सुरु भएको पूर्वी क्षेत्र महोत्सवस्थलबाट निस्केको ध्वनिले नजिकै रहेको शहीद स्मृति बहुमुखी क्याम्पसको पठनपाठनमा समस्या आएको र अध्ययन गर्न गाह्रो भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटिले जनाएको छ । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटिका अध्यक्ष सरोज तिमिल्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको हल्लाले पढाईमा असर परेको जानकारी गराएका हुन् । उनले महोत्सवस्थलको चर्को ध्वनिको कारण महोत्सवस्थल वरपरका अन्य विद्यालयहरुको पनि पठनपाठन खल्बलिएको बताएका छन् । विद्यार्थीहरुले महोत्सवबाट निस्केको आवाजलाई कम गर्न कि त महोत्सव नै सार्न अनुरोध गरेका छन् । शान्ति सुरक्षको स्थितिलाई मध्यनजर गरी राति हुने फुड फेस्टिवलको समय व्यवस्थापन गर्न समेत विद्यार्थीहरुले आग्रह गरेका छन् । 

आफ्ना मागलाई बेवास्ता गरेमा मंसिर ३ गतेदेखि आमविद्यार्थी तथा अभिभावकसहित महोत्सव परिसरमा धर्ना बस्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, महोत्सव आयोजक समिति र इलाका प्रहरी कार्यालय रत्ननगरलाई विज्ञप्तिको बोधार्थ (जानकारी) दिइएको छ ।

प्रतिक्रिया दिनुहोस