कञ्चनपुर । सारस चराको सङ्ख्या कञ्चनपुर–कैलालीमा बर्सेनि घट्दो क्रममा रहेको छ । सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ ।
सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान खुम्चिँदै जान थालेको छ । त्यसले यस चरालाई आहाराको अभाव भएको छ । नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार खेतीका लागि किसानले रासायनिक मलसँगै कीटनाशकको अत्यधिक प्रयोग गर्न थालेपछि यस चराको अस्तित्व नै सङ्कटमा परेको छ । सारसको सिकार गर्ने, अण्डा चोरी गर्ने कार्यसँगै जलवायु परिवर्तन, वातावरण प्रदूषणलगायतले थप जोखिम सृजना गरेको छ ।
चराविज्ञ डगौराले कैलालीमा पाँच र कञ्चनपुरमा २२ वटासम्म सारस अभिलेख गरिएका छन् । त्यो सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ । कञ्चनपुरमा यस चराको सङ्ख्या करिब १० देखि १५ रहेको अनुमान गरिएको उनले बताए ।
अग्लो खुट्टा र लामो घाँटी हुने सारसको शरीर सेतो, घाँटी खैरो र टाउको रातो हुने गर्दछ । सारसको उचाइ पाँचदेखि छ फिटसम्म हुने गर्दछ । जीवनभर एउटै जोडीमा रहने सारसको तौल ६ देखि १२ किलोसम्म हुने गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालिकिच ताल, बेलडाँडी गाउँपालिकाको सिमसार क्षेत्रमा सारस देखापर्ने गरेका छन् । यहाँ कहिलेकाहीँ बर्सातका बेला अन्य क्षेत्रका धान खेत तथा कैलालीको घोडाघोडी रामसार क्षेत्रमा मा आहारा खोज्दै गरेको अवस्थामा सारस देखापर्ने गरेका छन् ।
‘कीरा, फट्याङ्ग्रासँगै सारसले आहाराका रूपमा शङ्खेकीरा, सर्पलगायत खाने गर्दछ’, चराविज्ञ डगौराले भने, ‘बालीनालीका हानिकारक मानिएका कीराहरू सारसले खाने भएकाले कृषक सहयोगी चराका रूपमा यसलाई लिन सकिन्छ । कीरा–फट्याङ्ग्रा नियन्त्रण हुँदा किसानले अन्नको उत्पादन बढी लिन सक्छन् तर पछिल्लो समय यो चरा आफैँ सङ्कटमा परेको देखियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, ०८ : ३२
लेखकबाट थप