काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाउने प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो । परिसरको मुद्दा शाखाका प्रमुख तथा डीएसपी कुलदीप चन्दले अनुसन्धानको पाटो सकिएकाले अब डकुमेन्टेसन गरेर फाइल बुझाउन लागिएको अनलाइनखबरलाई जानकारी दिए ।
‘अनुसन्धान सकिएको छ । अब प्रतिवेदन तयार पारेर बुझाउने तयारीमा छौं । सम्भवत आज/भोलिमा सरकारी वकिल कार्यालयमा प्रतिवेदन जान्छ,’ डीएसपी चन्दले भने ।
यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले बुझाउन लागेको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रहरीको उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि कसलाई कस्तो मुद्दा चलाउने, को–को प्रतिवादी हुने भन्ने यकिन टुंगो भने सरकारी वकिल कार्यालयले लगाउनुपर्ने छ। संगठित अपराधको कसुरमा पक्राउ परेको मितिले ६० दिनभित्र मुद्दा अदालतमा पुगिसक्नु पर्नेहुन्छ । १५ जेठ अघि नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले जतिसक्दो चाँडो अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीले तयारी गरेको छ ।
प्रहरीले मुद्दा चलाउनुपर्ने भनेर उल्लेख गरिएका १ सय ८ जनामध्ये भने १८ जना अझै फरार छन् । बाँकीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ । तीमध्ये राप्रपा महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भाटभटेनीका फलफूल टिप्ने केहीलाई भने हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ । अदालतमा मुद्दा पुगेपछि उनीहरूलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो । हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राणा र वरिष्ठ उपाध्यक्ष मिश्रलाई पक्राउ गरेको थियो ।
ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र सांसद राणा पक्राउ परेका थिए । मुख्य कमाण्डर भनिएका प्रसाईंलाई भने भारतबाट पक्राउ गरेर ल्याइएको थियो । ठूलो संख्यामा प्रतिवादी बन्ने भएपछि परिसरले थप चार युनिटबाट अनुसन्धान अधिकृत मगाएर अनुसन्धान गरेको छ ।
यो घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुरबाट थप टोली मगाएर अनुसन्धान गरेका छन् ।
अपराध अनुसन्धान विभागबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनी अनुसन्धानमा खटिएका छन् । रानीपोखरीको एआईजी कार्यालयबाट एसपी प्रवीण धिताल पनि अनुसन्धानमा खटएका छन् । परिसर ललितपुरबाट मुद्दा शाखाका इन्स्पेक्टर नानिकाजी थापा, अपराध अनुसन्धान कार्यालय आईटी शाखाका इन्स्पेक्टर राजेश महर्जन, हृदय सापकोटासहितको टोलीले यो प्रकरणको अनुसन्धान गरेको छ ।
धेरै प्रतिवादी भएका ठूला र हाई प्रोफाइल व्यक्ति जोडिएका मुद्दाहरूमा प्रहरीले थप टोली मगाएर यसअघि पनि अनुसन्धान गर्दै आएको थियो । भुटानी शरणार्र्थी प्रकरणमा पनि अन्य कार्यालयहरूबाट थप अनुसन्धान अधिकृत मगाएर अनुसन्धान गरिएको थियो ।
विशेषगरी जटिल प्रकृतिका, धेरै प्रतिवादी जोडिएका र भीआईपी आरोपित भएका केशमा प्रहरीले छुट्टै टोली बनाएर अनुसन्धान गर्दै आएको छ ।
तीनकुने घटनामा परिसर भद्रकाली, काठमाडौंबाट एसपी कुलदीप चन्दसहितको टोली पनि खटिएको छ । परिसर भद्रकाली, काठमाडौं र अन्य थप चार युनिटका टोली गरी करिब २० अनुसन्धान अधिकृतको सहयोगमा तीनकुने घटनाको अनुसन्धान भइरहेको परिसर स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नि:शुल्क शिक्षा
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा