राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०८२, ०७ : २६
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ ।  प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको त्रिहत्तरौँ बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजेको लागि बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । 

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ । 

लोकसेवा आयोग र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको फरक–फरक धारणाका कारण यो विधेयक गिजोलिने अवस्थामा पुगेको छ । 

मुख्यगरी कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिलाई लोक सेवा आयोगले पठाएको ‘आयोगको धारणा सम्बन्धमा’ शीर्षकको लिखित पत्र र मुख्यसचिव अर्यालको नेतृत्वमा केही सचिवहरूको स्वार्थ केन्द्रित दबाबले विधेयक गिजोलिने अवस्थामा पुगेको हो ।

समितिले आयोगलाई गत वैशाख ४ गते पठाएको पत्रको जवाफ वैशाख ७ गते पठाउँदै आयोगले ‘कर्मचारीको अवकाश उमेर ६० वर्ष  बनाउँदा अपनाउने कार्यान्वयन विधि’ शीर्षकमा सम्बन्धित दफाको प्रतिबन्धात्मक वाक्यांशबाट सुरु भन्दै लेखेको छ, ‘तर यो ऐन प्रारम्भ भएको मितिले निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेर चालु आर्थिक वर्षसम्म ५८ वर्ष, त्यसपछिको पहिलो ६ महिनासम्मका लागि ५८ वर्ष ६ महिना, त्यसपछिको दोस्रो एक वर्षसम्मका लागि ५९ वर्ष र त्यसको एक वर्ष पछि सबै कर्मचारीको उमेर ६० वर्ष कायम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस