माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०८२, १० : ३८
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले पूर्वलाई असाधारण प्राथमिकतामा राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं गत पुस १५ यता अहिलेसम्म सात पटक भन्दा बढी पूर्व (कोशी प्रदेश) पुगिसेकका छन् ।

पार्टीका विभिन्न कार्यक्रम लिएर प्रचण्ड आफैंले कोशीलाई निक्कै महत्व दिएका छन् । पार्टीको तराई मधेस जागरण अभियान पनि प्रचण्डले कोशीको झापाबाट शुरु गरेर सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर समापन गरेका थिए । पार्टी अभियानका क्रममा फागुन ११ देखि १४ सम्म त उनले झापा, मोरङ र सुनसरीका गाँउ शहरमा डुल्दै उनले राजनीतिक सन्देश मात्र हैन, रणनीतिक संकेत समेत छोडेका छन् ।


माओवादी पार्टीले पछिल्लो समय कोशी प्रदेशमा दिएको असाधारण महत्व प्रचण्डको पूर्वी दौडधुपले पनि देखाउँछ ।  प्रचण्डको यो सक्रियता यत्तिमै सीमित छैन । कोशी प्रदेशको नामाकरणविरुद्ध जारी पहिचानवादी आन्दोलनमा माओवादीले खुलेरै साथ दिइरहेको छ ।

‘नो केबलकार’ अभियानजस्तै स्थानीय आन्दोलनहरूसँग पनि पार्टीको एक्यवद्धता देखिँदैछ- ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारप्रति विरोध जनाउने स्थानीयसँग माओवादी खुलेरै उभिएको छ ।

माओवादीले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पद उपचुनावमा जित दर्ता गर्दा पार्टीभित्र ऊर्जा थपिएको छ। त्यसपछि मोरङका ९ क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा माओवादी निकट अखिल (क्रान्तिकारी) ले ६ क्याम्पसमा विजय हात पारेर संगठनात्मक पकडलाई मजबुत बनाएको सन्देश दिएको छ।


यसबाहेक झापाबाट सुरु भएको तराई मधेस जागरण अभियानले माओवादी अबको चुनावमा कसैको बैशाखीमा होइन, आफ्नै संगठनको जगमा एक्लै चुनाव लड्ने सोचमा रहेको देखाउँछ । पहाड, तराई, आदिवासी, मधेसी- सबै पक्ष समेट्ने रणनीतिका साथ माओवादी नेतृत्व पुनः जनता–जनताको बीचमा जान थालेको छ ।


प्रचण्ड कहिले कहिले पुगे कोशी ?

आफुले सरकारको नेतृत्वग र्दा भष्टाचारका विरुद्द खरो उभिएका प्रचण्ड सरकार छोडेपछि जनताका बीचमा पुगिरहेका छन् । कांग्रेस एमाले गठबन्धन सरकार विचौलिया प्रभावमा रहेको र भष्टाचारीहरुलाइृ जोगाउनमात्र केन्द्रीत हुन थालेको आरोपसहित प्रचण्ड जनताका बीचमा दौडधुप गरिरहेका छन् ।

उको कोशी मोह दिनप्रतिदिन झाँगिदो छ । एमालेभित्र कोशीमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समुहले चुनौति दिईरहेको, ओलीले आफ्नै गृहप्रदेशमा पुग्न नसकिरहेको फाइदा माओवादीले उठाईरहेको छ ।

एमाले र कांग्रेसलाई कोशीमा कोशी प्रदेश नामाकरण र केवुलकार प्रकरणले स्थानीय जनतासँगको सम्वन्ध टाँढिदो अवस्थामा रहेका बेला माओवादीले भने यसबाट फाइदा लिने रणनीति बनाएको छ । त्यही क्रममा प्रचण्डको कोशी दौड बढेको माओवादी नेताहरुको भनाई छ । प्रचण्डले २०८१ पुस १५ देखि २०८२ बैशाख २७ सम्ममा सातौ पटक कोशीको दौडधुप गरिसकेका छन् ।
 
प्रचण्डको पूर्व दौड तालिका यस्तो छ

पुस १५ मा दक्षिणी झापाको गौरीगन्ज
माघ ४ मा विराटनगर
माघ १४ मा तेह्रथुम–पाँचथर
फागुन २ विराटनगर
फागुन ११ पुगेपछि १४ फागुनसम्म पूर्व नै थिए
फागुन १२ ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ शुभारम्भ
फागुन १३ मा मोरङ पार्टी अभियानमा
फागुन १४ मा सुनसरी पार्टी अभियानमा
बैशाख ७  मा पार्टीको विराटनगर महानगर कमिटीको सम्मेलन तथा ‘हाम्रो मत’ दैनिकको वार्षिकोत्सव कार्यक्रममा
बैशाख २७ मा किराँत र लिम्बुवान राष्टिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्टिय सम्मेलन धरानमा

र पाँचथर जिल्लाको फिदिम बजारको जनसभामा

अभियान मात्र कि भविष्यको रणनीति ?

पहिचान, संघीयता र सशक्त स्थानीयता जस्ता माओवादीको पुराना मुद्दा कोशी प्रदेशमा पुनः गुञ्जिन थालेका छन् । मुक्कुमलुङ केबलकारको विरोधमा उत्रिएका स्थानीयसँग माओवादीको एक्यवद्धता, कोशी नामाकरणविरुद्ध पहिचानवादी आन्दोलनमा साथ- यी सबै गतिविधि चुनावी रणनीतिभन्दा बढी, राजनीतिक ‘रि-ब्राण्डिङ’ को संकेत हुन् ।

माओवादीको अहिले कोशी प्रदेश सभामा १३ सदस्य, प्रतिनिधिसभामा चार सांसद र १ सय ३७ स्थानीय तहमध्ये १३ वटा प्रमुख पद मात्रै माओवादीको छ ।  गत मंसिरमा सम्पन्न उपनिर्वाचन र स्ववियु चुनावको नतिजाबाट कोशीमा सन्तोषजनक नजिता हासिल गरेपछि माओवादी निक्कै उत्साहित छ ।
राजनीतिक विश्लेषक चित्तबहादुर के.सी. भन्छन्, “पूर्वमा अहिलेको माओवादी सक्रियता विगत १० वर्षयताकै उच्च हो । यो केवल चुनावी तयारी होइन, सत्ता र जनताको बीचमा हराएको दूरी घटाउने प्रयास हो ।”

‘पूर्व मोह’ को उद्देश्य के ? माओवादी कोशी प्रदेशका एक पदाधिकारीले सफलखबरसँग भने, ‘भविष्यको चुनावी मैदानमा बलियो चुनौती पेश गर्ने तयारीका साथ माओवादी कोशीमा आक्रामक देखिदै जान थालेको छ । कोशी प्रदेश अब केवल भौगोलिक क्षेत्र होइन, माओवादीको लागि राजनीतिक पुनर्जागरणको आधारभूमि बनेको छ ।’
 
उनका अनुसार, पहिचानवादी आन्दोलनहरूसँग सहकार्य गर्दै राजनीतिक पुनर्संरचना, संगठनको पुनरुत्थान गर्दै स्ववियु र स्थानीय तहमा पकड विस्तार र मधेस–पहाड–जनजाति ‘त्रिकोण’ समेट्ने बहुजातीय एकता निर्माण गरेर माओवादीले अहिले कोशीलाई फेरि ०६४ कै अवस्थामा फर्काउन कसरथ गरिरहेको छ ।

समीक्षकहरू भन्छन्, “प्रचण्डको कोशी केन्द्रित दौडधुप सामान्य राजनीतिक कार्यक्रमभन्दा बढी रणनीतिक पुनःस्थापनाको रुपमा देखिएको छ ।” कोशीलाई चुनावी हिसाबले रणनीतिक ‘हब’ बनाउन माओवादीले तीव्र सक्रियता देखाउनु, त्यहाँ बढ्दो संगठन विस्तार र आन्दोलनहरूसँगको एकता - यी सबैले अबको चुनावी समीकरणलाई पुनःलेखन गर्ने संकेत माओवादीले कोशीबाट दिएको छ ।

प्रतिक्रिया दिनुहोस