काठमाडौँ । नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका ११ कृषिचोकमा कोठा भाडामा लिएर बस्दै आएकी यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीले मिलेर नौ वर्षीय छोरा कुशल बुढाको हत्या गरेर शव जमिनमुनि गाडेको अनुसन्धानबाट पुष्टि भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
कुशल बुढाको शव जमिनमुनि गाडिएको अवस्थामा भेटिएपछि सो घट्नाको अनुसन्धान गर्दै जाँदा सौतेला पिता निरकनाथ योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन गरेको पाइएकोले दुबैलाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाई अनुसन्धान गरिरहेको निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक रेसमलाल पौडेलले बताए । उनका अनुसार मृतक बालकका बुवाको मृत्यु भइसकेको र आमाले दुल्लु नगरपालिका १० का निरक नाथ योगीसँग दोस्रो विवाह गरेकोले ती बालक उनीहरूसँगै कोहलपुरमा बस्दै आएका थिए ।
मृतक कुशलका हजुरबाले सौतेला बुवा योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव जमिनमुनि गाडेर घटना लुकाउन खोजेको भन्दै प्रहरीका निवेदन दिएका थिए । दुवै जनाले मिलेर बालकको हत्या गरेर शव गाडिसकेपछि आएर प्रहरीलाई वैशाख ८ गते बालक हराएको भनी जानकारी गराएको तर खोजतलासमा कुनै चासो नदेखाएकोले उनीहरूमाथि शंका लागेको र अनुसन्धान गर्दा उनीहरूले नै घटना गराएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले ती दुवै जनालाई जिल्ला अदालत बाँकेमा पेस गरेर पाँच दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको निमित्त प्रमुख पौडेलले बताए ।
कोहलपुर माविमा कक्षा तीनमा अध्ययनरत नौ वर्षीय बालक कुशल बुढाको शव बाँकेको बैजनाथ गाउँपालिका-४ नौलापुरमा जमिनमुनि गाडिएको अवस्थामा सोमवार बेलुकी भेटिएको थियो । गाई भैँसी चराउन गएका गाउँका वृद्धहरूले नौलापुरमा सडेको दुर्गन्ध पाएपछि हेर्दा बालकको खुट्टा जमिनमुनिबाट बाहिर निस्किएको देख्दा स्थानीय र जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ
घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
कैलालीमा साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ