काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ । रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले विज्ञप्ति निकालेर आवासीय चिकित्सकका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिनलाई पूरा गर्न माग गरेकी हुन् ।
‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गरी समय सापेक्ष र सामाजिक न्यायको सिद्धान्तको समेत सम्मान गर्दै आवासीय चिकित्सकहरूको माग अबिलम्ब पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई जिम्मेवार हुन जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले उनीहरूका माग सरकारले सुन्नुपर्ने आग्रह गरेकी छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘…विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासिनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
आवासीय चिकित्सकहरुले सरकारी सरह भत्ता लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन् । चिकित्सा शिक्षा आयोगले सरकारी सरह भत्ता दिन निजी मेडिकल कलेजहरुलाई निर्देशन दिँदा पनि कार्यान्वयन नभएको विरोधमा उनीहरुले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा