काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको र उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘सभापति’ बनाए हुन्छ भन्ने टिप्पणी गरेपछि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही आक्रोशित भएका छन्।
कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘पूर्वराजा संवैधानिक राजा हुन पनि सक्दैनन्, बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, राजनीति गर्नु छ भने बरु पार्टी खोले भइहाल्यो। नत्र दु:ख पाउँछन् विचरा (राप्रपा नेता-कार्यकर्ता) हरूले।’
यसमा आक्रोश व्यक्त गर्दै सांसदसमेत रहेका राप्रपा प्रवक्ता शाहीले सामाजिक सञ्जालमार्फत देउवलाई प्रश्न गरेका हुन्।
यस क्रममा शाहीले देउवालाई बीपी कोइरालाको सिद्धान्त बेचेर खाएको आरोप पनि लगाएका छन्।
‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू! हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ’, शाहीले लेखेका छन्, ‘त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग शपथ खाँदै बन्नुभएको हो?’
हाल राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देन छन्। राप्रपा प्रवक्ता शाहीले राजाका विषयमा कांग्रेसको धारणा बुझ्न देउवालाई पार्टीभित्र चुनाव गराउन चुनौतीसमेत दिएका छन्।
शाहीले लेखेका छन्, ‘जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू! यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ? हिम्मत छ?’
विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै निर्वाचन गराउन असक्षम भएको आरोप लगाउँदै २०५९ असोज १८ गते पदबाट बर्खास्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही